समाचार

घाइते प्रजिअलाई थप उपचारका लागि काठमाडौँ लगियो

वीरगञ्ज । शनिबार राति बारा निजगढ पथलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा परी सख्त घाइते भएका बाराका प्रजिअ गणेशप्रसाद भट्टराईलाई थप उपचारका लागि हेलिकप्टरबाट आज काठमाडौँ लगिएको छ ।

शहीद हिरालाल गौतम स्मृति पार्कमा कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको वनभोजपछि आफन्तको बिहे भोजमा सहभागी भई सर्लाही हरिओन पुगेर निजगढ हुँदै कलैयातर्फ फर्कदा राति ८ः३० बजे प्रजिअ चढेको स्कारपियो जिप पसहाखोला नजीक ढुङ्गा लोड गरी रोकिएको ट्र्याक्टरमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

सो दुर्घटनामा बाराका सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो । उनलाई घाइते अवस्थामा उपचारका लागि सिमरास्थित अल्पलाइन अस्पतालमा लैजाँदै गर्दा प्रहरी नायब उपरीक्षक पोखरेलको बाटोमै मृत्यु भएको चिकित्सकले जनाएको छ ।

गम्भीर घाइते प्रजिअ भट्टराईलाई राति नै वीरगञ्जस्थित हेल्थ केयर सेन्टरको सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । प्रजिअ भट्टराईको टाउकोको दाहिनेतर्फ गम्भीर चोट लागि रगत बगिरहेको र शरीरको कुनै पनि अङ्ग काम गर्ने अवस्थामा नरहेकाले आइतबार अपराह्न थप उपचारका लागि काठमाडौँ लगिएको बारा प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी चालक जगत पटेल, प्रजिअका अङ्गरक्षक शम्भु गुरुङ, प्रहरी उपरीक्षकका अङ्गरक्षक सञ्जयकुमार यादव सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।