अन्तर्राष्ट्रिय

अफगान युद्ध अन्त्यका लागि भइरहेको वार्तामा महत्वपूर्ण प्रगति

वासिङ्टन । संयुक्तराज्य अमेरिका र अफगानिस्तानमा विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिले नियुक्त गर्नुभएका अफगान शान्तिदूत जाल्मे खलिलजादले कतारको दोहामा तालिबान प्रतिनिधिसँग अप्रत्यासित रुपमा छ दिनदेखि वार्ता गरिरहेका छन् ।

“विगतमा भन्दा यसपटकको वार्ता निकै सकारात्मक भएको छ । केही महत्वपूर्ण सवालमा हामीले सहमति गरेका छौं,” खलिलजादले ट्वीट गर्दै भनेका छन् । अफगानिस्तानी र पाकिस्तानी सरकारसँग छलफल गरी खलिलजाद तालिबानसँग वार्ता गर्न कतार पुगेका थिए । वार्ताका सम्बन्धमा थप जानकारी गराउन आफू अफगानिस्तान पुनः जान लागेको खलिलजादले बताए ।

“हामी यो वार्तालाई अझ तिब्रता दिन चाहन्छौं, र चाँडै अर्को वार्ता हुनेछ । केही विवादका विषयमा छलफल गरी तत्कालै टुङ्ग्याउनु पर्नेछ,” उनले ट्वीटमा भने । “सबै कुरामा सहमति नहुँदासम्म कुनै एक विषयमा पनि सहमति भयो भन्न सकिन्न, र विस्तृत शान्ति सम्झौता भएपछि मात्र सहमतिको कार्यान्वयन भएको मानिनेछ ।”

वार्ताको टेबलमा राखिएका कुनै पनि विवरण सार्वजनिक गरिएको छैन, तर जानकारहरुका अनुसार प्रस्तावित योजनामा अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता गर्ने तथा अफगानिस्तानमा कुनै पनि विदेशी अतिवादी समूहलाई तालिबानले शरण नदिने उल्लेख छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि ट्वीट गर्दै खलिलजादबाट आफूले उत्साहजनक समाचार प्राप्त गरेको बताएका छन् । “अमेरिका अफगानिस्तानमा दिगो शान्तिको पक्षमा दृढ छ, र अन्तर्राष्ट्रिय आतङ्कवादीहरुको आश्रयस्थल अफगानिस्तान नहोस् भन्ने अमेरिकी चाहना हो र त्यसमा तालिबान सहमतिमा आउने हाम्रो विश्वास छ ।”

अमेरिकाले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र समृद्धिलाई सदैब समर्थन गर्ने विदेशमन्त्री पोम्पेओले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अमेरिकाको सबैभन्दा लामो अफगान युद्ध अन्त्य भएको चाहान्छन् । अफगान युद्ध सन् २००१ सेप्टेम्बर ११ बाट शुरु भएको थियो । राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा तैनाथ सेनामध्ये आधा अर्थात् १४ हजार अमेरिकी सेना तत्कालै फिर्ता गर्ने बताइसकेका छन् ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्तामा प्रगति भएपनि युद्धविराम गर्ने सम्झौता भइसकेको भन्नेमा सत्यता नरहेको बताएका छन् । साथै, उहाँले अफगानिस्तान सरकारसँग पनि वार्ता भएको भन्ने कुरा हल्ला मात्र रहेको बताए । वार्तामा सहमति जुट्न बाँकी विषयमा आगामी बैठकमा सुल्झाउनेतर्फ तालिबान सकारात्मक रहेको उनले स्पष्ट गरे ।