लुम्बिनी

इँटाको मूल्यमा वृद्धि

बाँके । बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन् । कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जियानुल खाँनले जानकारी दिए ।

‘‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढिरहेको छ । इँटाका लागि नभई नहुने पत्थर कोइला, माटो, बालुवा सबैको मूल्य निकै चुलिएको छ । कर्मचारीको पारिश्रमिक पनि बढिरहेको छ’’, अध्यक्ष खाँनले भने । उहाँका अनुसार रु नौदेखि रु १० सम्म मूल्य रहेको दुई नं लालपेटी र खञ्जडको मूल्य प्रतिगोटा रु ११ कायम गरिएको छ, भने अब्बल इँटा प्रतिगोटा रु १५ कायम गरिएको छ । हाल अब्बल इँटाको मूल्य रु १३ छ ।

सङ्घका कार्यालय सचिव सूर्य पौडेलका अनुसार पुसदेखि जेठसम्म इँटा उत्पादनको उपयुक्त समय मानिन्छ । उहाँका अनुसार गतवर्ष प्रतिकेजी रु १६ देखि रु २२ सम्ममा पाइने कोइला यसपालि शुरुकै मूल्य रु २७ पुगेको छ । ‘‘यो मूल्य अझ बढ्न सक्छ’’, कार्यालय सचिव पौडेलले भने, “मूल्य बढेपनि कोइला भारतमै पाउन छाडेको छ । व्यवसायीले तेस्रो मुलुकबाट पत्थर ल्याउनुपर्ने बाध्यता भएकाले पनि मूल्य बढेको हो ।” बाँके जिल्लामा ५० बढी इँटा उद्योग छन् । यहाँ उत्पादन भएका उद्योग कर्णाली प्रदेश र काठमाडौँसम्म जाने गर्छ । मूल्य वृद्धिसँगै घर बनाइरहेका र घर बनाउन चाहेकाका लागि आर्थिक व्ययभार बढेको छ ।