बाग्मती

सडकका कारण तीर्थयात्रीलाई सास्ती

साँखु । निर्माणाधिन चाबहिल–साँखु सडकखण्डमा हिलो र चिप्लोका कारण विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीलाई समस्या भएको छ ।शङ्खरापुर नगरपालिकाको साँखुमा माघ ७ गतेदेखि लागेको माधवनारायण शालीनदी मेलामा आउने भक्तजनले सडकका कारण सास्ती भोग्नु परेको हो । सडकमा ठूला खाल्डा, हिलो र चिप्लो भएकाले चाबहिलबाट साँखु जाने गाडी फस्ने गरेका छन् भने मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेको तीर्थयात्री जयराम खतिवडाले बताए ।

गाडी फस्ने हुँदा सवारी आवागमन समस्या भएको छ । लामो सवारी जाम पर्ने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको छ । मेला हेर्न आउने भक्तजन गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा हिलाम्मे सडकमा पैदल मन्दिर जान बाध्य छन् । चाबहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिक मार्ग नभएकाले सोही बाटो हुँदै जानुपर्ने बाध्यात्मक अवस्था रहेको मेला हेर्न आएका रुपेश श्रेष्ठले बताए । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाई ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सो सडकको विस्तार गरिरहेका छन् ।