शिक्षा

सामुदायिक विद्यालयमा पूर्वाधारको अभाव

काठमाडौँ । नेपालका सार्वजनिक विद्यालय भौतिक पूर्वाधारको अभावसहित विभिन्न समस्या भोगिरहेकाले उत्कृष्ट गुणस्तरको शिक्षा दिन नसकिरहेको शिक्षाविद्हरुको धारणा रहेको छ ।

धनकुटाको मुगा गाविसमा अवस्थित राम माविको ७२औँ वार्षिकोत्सवमा उनीहरुले नेपालका सामुदायिक विद्यालयमा स्रोत साधनको कमी, विद्यालयमा राजनीति हुने, झण्डै एक घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता रहेको बताए ।

विसं २००४ मा निम्न माविको रुपमा स्थापना भएको सो विद्यालयमा माध्यमिक हुँदै माध्यमिक विद्यालयको स्वीकृति प्राप्त गरेको थियो विसं २०६५ देखि सो विद्यालयले उच्च माध्यमिक विद्यालय तहको हेल्थ एजुकेशनको कक्षा सञ्चालन गर्दै आएको छ । एउटा पक्की भवनसहित १० वटा कच्ची भवन रहेको सो विद्यालयमा २०६५ सालको एसएलसीमा ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका मानार्थ अध्यक्ष अजितनारायण थापाले नेपालका सामुदायिक विद्यालय पूर्वाधारको कमीबाट ग्रष्ट रहेको बताउँदै विद्यालयको विकासका लागि पूर्वाधार पर्याप्त हुनुपर्ने, स्रोतसाधन सम्पन्न हुनुपर्ने विचार व्यक्त गरे ।

विद्यालयका पूर्व प्रधानअध्यापक चिरञ्जीवी घिमिरेले स्रोत साधनको कमी भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विचार व्यक्त गरे ।  विद्यालय व्यवस्थापन समितिका सदस्य सुरजनारायण सिंह थापा, वरिष्ठ शिक्षाविद् इन्द्र थापा, २८ वर्षसम्म शिक्षकको रुपमा रहेका रामकुमार शाह, प्रअ चन्द्रकुमार राईलगायतका वक्ताले गाउँमा स्थानीय बासिन्दा पलायन भएकाले जनघनत्व घट्दै गएकाले विद्यालयको विद्यार्थी घ्टन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।