कर्णाली प्रदेश

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात

सुर्खेत । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ । कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न शुरु गरेको थियो ।

क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले पछिल्ला चार वर्षयता यसपटक बाक्लो हिउँ परेको बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले सोही क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ ।

हावापानी कार्यालयले राडारकै सहायताले हिमपात र वर्षाको विवरण सङ्कलन गर्न थालेको छ । गुराँसे मात्रै नभई तल्लो तटीय क्षेत्र रानीमत्ता, निगालपानी, धरमपोखरा, सेरी गाइबान्ना आसपासमा पनि बाक्लो हिमपात भएको छ । वीरेन्द्रनगरदेखि रानीमत्ता, रातानाङ्ला र गुराँसेमा हिउँ हेर्न जानेको लर्को लाग्ने गरेको छ । हिउँ हेर्नेको भीडले सुर्खेत–दैलेख सडकखण्डको रातानाङ्लामा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्नै मुस्किल हुने गरेको छ ।