खेलकुद

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने

चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ । रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए । सो रङ्गशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।

सो जग्गा रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ । सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रङ्गशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए । कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो । कट्टेलका अनुसार औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ । रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै जानकारी दिने उनले बताए ।

राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । अध्यक्ष कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताए । कलाकारिताबाट समाजसेवामा लाग्नुभएका कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ । ती बस्तीमा ३२० बढी परिवार बसोबास गर्दै आएका छन् ।