लुम्बिनी

कञ्चनगढी उत्खनन गर्न माग

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित पर्यटकीयस्थल कञ्चनगढीे उत्खनन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको यो स्थल उत्खनन, उचित प्रचारप्रसार तथा संरक्षण नहुँदा ओझेलमा परेको हो । यस स्थललाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न सक्रियता देखाएका स्थानीयवासी उत्खनन हुन नसक्दा यहाँको महत्व र ऐतिहासिक वस्तुस्थितिबारे प्रचार गर्न नसकिएको बताउँछन् ।

खजुराटोलबाट करीब ७०० मिटर उत्तरतर्फ जङ्गलको काखमा अवस्थित कञ्चनगढी खजुरा खोलाको किनारमा अवस्थित हुनाका साथै त्यहाँ हरियाली वातावरण पनि छ । मनोरम वातावरणले भरिपूर्ण ऐतिहासिकस्थलमा अहिले आन्तरिक पर्यटकको आवागमन बढेको छ ।

तीन तलाजस्तै रहेको उक्त क्षेत्रको माथिल्लो खण्डमा युद्ध सामग्री राख्न तथा मन्दिर निर्माण गर्न मिल्ने, दोस्रो खण्डमा समथर जमीन र रुख बिरुवाले भरिपूर्ण फूलबारी बनाउन मिल्ने र पहिलो खण्डमा वनभोज स्थलको रुपमा विकास गर्न सकिने देखिन्छ । डेढ बिघा क्षेत्रमा फैलिएको उक्त क्षेत्रमा अहिले एउटा शिवालय छ । यसअघि उत्खननका क्रममा भेटिएका प्राचीन कलाकृतिका ढुङ्गा, वनभोजका लागि दुई वटा ट्रष्ट र आँप, कटहर, अम्बालगायत फलफूलको बगैँचा पनि बनाइएको छ ।

विसं २०४७ मा मात्रै पत्ता लागेको उक्त स्थानमा शिवरात्रिका बेला त्यहाँ मेला लाग्नाका साथै साउन महीनामा जल चढाउनेको पनि घुइँचो लाग्छ । अठ्ठाइस वर्षअघि स्थानीय परमेश्वर थारूले सपनामा सो स्थानमा शिवलिङ्ग गाडिएको देखेपछि उत्खनन गर्दा त्यहाँ शिवलिङ्गलगायत बुद्ध र अन्य भगवान् आकृतिका मूर्ति भेटिएको थियो । ती मूर्ति भेटिएपछि त्यस स्थानभन्दा केही तल उनले कुटी बनाएर बस्नुभएको र विसं २०५७ मा पाल्डाँडाका ऋषिराम पौडेलले आफ्ना मातापिताको सम्झनामा त्यहाँ मन्दिर निर्माण गरेका थिए । गाउँलेले बस्ने आश्रम पनि बनाइदिएको पुजारीसमेत रहनुभएका थारू बताए ।

सो क्षेत्रमा खन्दा प्राचीन दरबारका पर्खाल देखिने गरेकाले पुरातत्व विभागबाट उत्खनन गराउन आवश्यक रहेको स्थानीयवासी चन्दबहादुर गाहा जोड दिनुहुन्छ । उनले भने, “पर्यटकीय दृष्टिले निकै सम्भावना बोकेको ठाउँ भएर पनि प्रचारप्रसार र विकास हुन नसक्दा अहिलेसम्म यो क्षेत्र ओझेलमा छ, अब नगरपालिकाले गुरुयोजना बनाएर धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्छ ।”

स्थानीय तहको निर्वाचनपछि वडा तथा नगरपालिकाका जनप्रतिनिधिको पहलमा अहिले त्यहाँसम्म पुग्ने बाटो निर्माण गरिएको छ । वडा कार्यालयको पहलमा एक लाख १७ हजार बजेट विनियोजन गरे पनि स्थानीय गाउँलेको सहयोगसमेत गरी रु पाँच लाखमा एक हजार २०० मिटर बाटो निर्माण गरिएको वडाध्यक्ष रेश्मीराज भट्टराईले बताए ।

उनले भने, “नगरपालिकाबाट रु चार लाख ७४ हजार बजेट विनियोजन गरी त्यहाँ वनभोजका लागि दुई ट्रष्ट पनि निर्माण गरिएको छ । अहिले त्यहाँ शनिबार र अन्य दिन पनि वनभोज खानेको भीड लाग्ने गरेकाले खानेपानी, बिजुलीबत्ती, शौचालयको व्यवस्थाका साथै रेखदेख गर्ने व्यक्तिको पनि आवश्यकता छ ।”

कञ्चनगढीको विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख धीरज शर्मा बस्यालले भने, “यहाँको वातावरण र भौगोलिक बनावट हेर्दा इतिहासको कुनै कालखण्डमा युद्ध भएको हुनसक्ने देखिएकाले यसलाई हामी उत्खनन गरेर मनोरमस्थलको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेका छौँ ।” उनका अनुसार छेउमै बगिरहेको खजुरा खोलामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा यसैवर्ष झोलुङ्गे पुल निर्माण हुँदैछ भने सिँचाइ विभागको सहयोगमा सोही खोलामा डेढ करोडको लागतमा बाँध निर्माण गरिँदै छ । केही वर्षभित्रै त्यहाँ पर्यटकलाई आकर्षित गर्न झोलुङ्गे पुल, कृत्रिम तलाउ, फूलबारीलगायतसंरचना बन्ने जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “ यसलाई मनोरम वातावरणको रसास्वादन गर्ने ठाउँको रुपमा विकास गरिनेछ ।”