बाग्मती

पहिरोले पुरिएर दुई जना बेपत्ता

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् ।

गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

हराइरहेका दुई जनाको गाउँवासीले ओडारमा बसेको बेला पहिरो गएकाले उद्धार गर्न र खोजी गर्न सकेका छैनन् । दुई दिनदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकाले उद्धारका लागि सरकारसँग माग गरिएको शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनबाट जानकारी दिए । गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए ।