बाग्मती

अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य अवस्थामा

काठमाडौँ । मौसममा आएको खराबीका कारण बिहान अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सामान्य अवस्थामा उडान अवतरण भइरहेको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सुले दृश्यता (भिजिबिलिटी) अत्यन्त कम भएका कारण बिहान करीब ३ घण्टा उडान प्रभावित भएको हो । मौसममा सुधार आएसँगै विमानस्थलमा अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

मौसम खराबीले बिहान विमानस्थलको भिजिबिलिटी १०० देखि २०० मिटर मात्र थियो । करीब ८ बजेको समयमा १६०० मिटर थियो । पुनः ९ बजे भिजिबिलिटी एक हजारमा झरेको थियो ।

अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृतिअनुरूप सानो जहाजलाई १६०० तथा ३२०० मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ ।

आन्तरिक उडानतर्फ साना जहाजका लागि १६०० भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।