लुम्बिनी

राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको भम्का–बैरिया राप्तीघाटमा झोलुङ्गे पुल निर्माणकार्य शुरू भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ७६ लाखको लागतमा पुल बन्न लागेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

उनका अनुसार, ठेकेदार कम्पनीले अबको आठ महिनाभित्र पुल निर्माणसम्बन्धी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको छ ।  गाउँपालिका अध्यक्ष थारुले झोलुङ्गे पुल बनेपछि विकट गाउँको रुपमा रहेको भम्कावासीको अवस्था फेरिने बताउँदै पुलबाट गाउँसम्म जोड्ने आवश्यक पूर्वाधार बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले वर्षौदेखि डुङ्गाको सहारामा यात्रा गर्नुपर्ने बाध्यता र वर्षादमा झेल्नु पर्ने दुःख कष्ट अब भम्कावासीले व्यहोर्न नपर्ने उल्लेख गरे ।

पुल निर्माण भएपछि राप्तीपारी रहेको भम्का गाउँवासीको वडापालिका र गाउँपालिका केन्द्रसँग सीधा सम्पर्क हुनेछ । अहिले भम्कावासी डुङ्गामा राप्ती नदी वार–पार गर्नुपर्ने बाध्यता रहेको शिक्षक भुवन खुनाले बताए । झोलुङ्गे पुल बनेपछि राप्तीनदी वारपार गर्न धेरै राहत मिल्ने उहाँले विश्वास गरे ।