पत्रपत्रिका

देशभरका मालपोतमा खेलेआम कर्मचारी घूस माग्छन्, अख्तियार देखियो निश्किृय

काठमाडौँ । मालपोत कार्यालयमा आफैं काम गराउनु फलामको चिउरा चपाउनुजस्तै हो । अतिरिक्त नगदसहित बिचौलियाबिना काम गर्नु त असम्भवजस्तै छ । संवाददाताहरूको प्रत्यक्ष अनुभव छ, मालपोतमा खनखनी नगद नगनी काम हुँदैन ।

मालपोत कार्यालय धनुषामा जग्गा रजिस्ट्रेसन गराउन लेखनदास जगदीश साहले शुक्रबार सबै कागजी काम सके । फाँटका कर्मचारीले भने रसिद काट्न आलटाल गर्न थाले । उनले आइतबार दिनभर रसिद काट्न आग्रह गरे । कर्मचारीले सुनेनन् । यज्ञभूमि–९ को १३ कट्ठा ३ धुर जग्गा पास गर्न गएका साहलाई कर्मचारीले ‘फुर्सद छैन’ भन्दै सोमबार अपराहनसम्म अल्झाए ।

नापीका अवकाश प्राप्त कर्मचारी साहको धैर्यको बाँध टुट्यो । रिसाउँदै उनी मालपोत अधिकृत इजहार आलमकहाँ पुगे । ‘कागजी प्रक्रिया सबै पुर्‍याए पनि रसिद काट्न आलटाल गर्दै छन्, तपाईंको कर्मचारी पैसा खान खोज्दै छन्, सम्झाउनुस्, नत्र अख्तियारमा फोन गर्छु,’ साहले भने । अधिकृत आलमले रजिस्ट्रेसन फाँटका कर्मचारी खाना खान गएकाले आएपछि सम्झाउँछु भने । उनले साहलाई थामथुम पारे ।

‘घूस लिन त आलटाल गरेको होला,’ उनले भने, ‘त्यसैले अधिकृतलाई एक्सन लिन भनेको छु । नलिए अख्तियारलाई भन्छु ।’ उनले अख्तियारसम्मको कुरा निकालेपछि मालपोत अधिकृतले काम गर्न निर्देशन दिए । घूस नखुवाई उनको काम भयो ।

मालपोत कार्यालय धनुषामा दैनिक हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्छ । फाँटैपिच्छे कर्मचारीले सेवाग्राहीसँग हाकाहाकी पैसा असुल्छन् । ‘बिनापैसा कुनै काम हुँदैन,’ २०५५ सालदेखि बिचौलियाको काम गरिरहेका एकजनाले भने, ‘यतिका वर्ष काम गर्दा बिनापैसा फाइल अघि बढेको मलाई थाहा छैन ।’ कार्यालय समयमै खाना खाने बहाना बनाउँदै कर्मचारी सेवाग्राहीसँग तर्किन्छन् । अबेर कार्यालय आएर कर्मचारी ‘फुर्सद छैन, भ्याउँदिन’ भन्दै पैसा खोज्छन् ।

सरकारी कर्मचारीले सेवाग्राहीसँग पैसा असुल्ने गरेको गुनासो बढेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज ४ गते मालपोत कार्यालय धनुषामा छडके गरे र सेवाग्राहीलाई दुस्ख नदिन निर्देशन दिए । ४ महिना बित्दा पनि मालपोत कार्यालय धनुषाको सेवामा सुधार आएको छैन ।

चारतले भवनको भुइँ तलामा सेवाग्राही बिहानैदेखि लाम बस्छन् । सम्बन्धित फाँटको झ्यालैपिच्छे उभिन्छन् । सेवाग्राहीको एउटा हातमा कागजपत्र, अर्को हातमा पैसा हुन्छ । जग्गा रजिस्ट्रेसनका लागि सोमबार सबेरै पुगेका धनुषा नगराइनका अमरेश ठाकुरले ३–४ घण्टा कुर्दा पनि दर्ता–चलानी फाँटका कर्मचारी नभेटिएको बताए । ‘मान्छेको भीड लागेकै बेला कर्मचारी टाप कस्छन् । यिनीहरूले दुस्ख दिन मात्र जानेका छन्’, उनले भने ।

मोठ फाँटमा २ सय रुपैयाँ नबुझाउँदा फाइल अघि सर्दैन । पुराना फाइल हेर्नुपर्दा कर्मचारीलाई रकम नदिए टेर्दैनन् । कार्यालयको भित्री ढोका खोल्न गेटकीलाई ५०–१०० रुपैयाँ थमाउनै पर्छ ।
कर्मचारी कार्यकक्षमा सेवाग्राही पुग्न सक्दैनन् । उनीहरूले झ्यालबाटै काम गराउनुपर्छ ।

सेवाग्राहीको सबैभन्दा बढी भीड लाग्ने मालपोत र नापी कार्यालयमा बिचौलिया र कर्मचारीले हाकाहाकी घूस माग्छन् । घूस दिनेको काम एकैछिनमा सकिन्छ,नदिनेले दुई–तीन दिनसम्म दुस्ख पाइरहन्छन् । बिचौलियाले झ्यालबाट फाइल छिराएर लाममा बसेका सेवाग्राहीभन्दा छिटो काम गराउँछन् ।

झ्यालैपिच्छे रहेका फाँटमा सेवाग्राहीको भीड हुन्छ । तल्लो तलाको मुख्य ढोकानिर फलामको अर्को ढोका छ । जसमा ताल्चा लागेको हुन्छ । छेउमै रहेको मालपोत अधिकृत आलमको कार्यकक्षमा पनि ग्रिलको ढोका छ । भित्रबाट ताल्चा लगाइएको हुन्छ । सेवाग्राहीलाई कुनै गुनासो भए त्यही ग्रिलको ढोकाबाट चिच्याउनुपर्छ । झन्डै १५ वटा डोर र फाँटका काम गराउन झ्याल नै प्रयोग गर्नुपर्छ । सेवाग्राहीको ‘सहयोग’ का लागि मालपोत कार्यालयकै दक्षिण छेउमा लेखापढी व्यवसायी संघले दुईवटा भवन बनाएको छ । जहाँ करिब दुई सय व्यवसायी बस्छन् ।

मालपोत प्रमुख रामबाबु मण्डलले सबै काम झ्यालबाटै हुने भएकाले सेवाग्राहीलाई रोक लगाइएको बताए । मालपोतमा सेवाग्राहीसँग कर्मचारीले पैसा लिने गरेको गुनासो नआएको उनले दाबी गरे । ‘सेवाग्राहीसँग एक सुकै लिइँदैन, कुनै कर्मचारीले लिएको छ भने भन्नुस्, म कारबाही गर्छु,’ उनले भने, ‘कम्प्युटरकृत प्रणाली भएकाले सिस्टममा खराबी आउँदा मात्रै ढिलाइ हुन्छ ।’

बिचौलिया निषेध नाममा मात्रै
पाल्पा मालपोत कार्यालयमा केही दिनअघि बिचौलिया प्रवेश निषेध भनियो । सर्वसाधारणले कार्यालय पुग्नासाथ काम हुने ठाने । यस्तो भरोसा धेरै टिकेन । लेखापढी व्यवसायीबिना काम नहुने मंगलबार रेवतीसरा थापाले बताइन् । ‘काम कसरी हुन्छ, मेसै पाइन,’ उनले भनिन्, ‘कागजपत्र बोकेर लेखापढी व्यवसायी दौडधुप गर्छन् ।’

यहाँ आउने सर्वसाधारणलाई कर्मचारीले लेखापढी व्यवसायीका फर्ममा पठाउँछन् । कर्मचारीलाई घेरेर तिनै लेखापढी बसेका देखिन्छन् । सर्वसाधारण भौंतारिएको देखेपछि तिनले काम सोध्छन् र फर्ममा पुर्‍याउँछन् । ‘कर्मचारीलाई सक्षम गराउने हो भने हामीभित्र जाँदैनौं,’ लेखापढी व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पाण्डेयले भने, ‘उनीहरू सक्षम भए हाम्रो काम हुँदैन ।’ मालपोतमा पहिले लिखतको दररेट थियो । अहिले छैन ।

आजको कान्तिपुर, ‘मिलाएर दिनुस् भन्छन्,’ सेवाग्राही रमेश खनालले भने, ‘कति रुपैयाँ दिने हो भन्दैनन् । थोरै दियो भने धेरै माग्छन् ।’ सामान्यतया ५ सयदेखि २० हजार रुपैयाँसम्म लिएको भेटिएको छ । पुरानो तमसुक फाराम भर्न सक्दैनन् । नयाँ लागू भइसकेको छैन । सर्वसाधारणलाई बिचौलियाको भर नपरी हुँदैन । मालपोत प्रमुख सुरण पौडेलले लेखापढी व्यवसायीलाई पत्र दिई कार्यालयभित्र आएर काम नगर्न आग्रह गरेको बताए । ‘मिसिलमा थपघट गर्न परे हो, नत्र आउन दिइएको छैन,’ उनले भने, ‘परिसरमा पस्न दिइएको छैन ।’

राजस्वभन्दा बढी असुली
बर्दियाको मधुवन नगरपालिका–५ का प्रदेशी थारू जग्गा नामसारी गर्न मालपोत कार्यालय पुग्दा छक्कै परे । रजिस्ट्रेसन फाँट पुगेपछि खरिद गरेको खुसियालीमा कर्मचारीले नास्ताबापत एक सय रुपैयाँ मागे । गुलरिया–३ का वडा सदस्य लवकुश यादव कम्प्युटर फाँटदेखि रजिस्ट्रेसन र तामेली फाँटमा बिचौलियामार्फत घूस लिने काम नरोकिएको बताउँछन् ।

सर्वसाधारणले धनीपुर्जा लिन आउँदा कम्प्युटर फाँटका कर्मचारीले ७५ रुपैयाँभन्दा बढी रकम असुल्ने गरेको सेवाग्राहीले बताए । गुनासो आएपछि कडाइ गरिएको मालपोत प्रमुख कृष्ण ज्ञवालीले बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मालपोत प्रमुख ज्ञवालीलाई बोलाएर यस किसिमका गतिविधि रोक्न निर्देशन दिएको बताए ।

दुःख दिने अनेक बहाना
घोराही उपमहानगरपालिका–८ का बिन्तीराम चौधरीलाई मालपोत र नापीमा काम गर्न कठिन लाग्छ । भीड, लथालिंग कागजात र कर्मचारीको रुखो व्यवहार । ‘नपढेको मान्छे केही थाहा हुँदैन, यता जाऊ उता जाऊ भनेर हैरान पार्छन्,’ उनले भने, ‘कहिले कम्प्युटर बिग्रियो भन्छन् । कहिले के भयो भन्छन् ।’

घोराही–२ की पिमा नेपालीले कित्ताकाटका लागि नापी कार्यालय पुग्दा त्यस्तै हैरानी भोगिन् । ‘कतिबेला कित्ताकाट गर्न मिल्दैन भन्ने, कतिबेला के भन्ने,’ उनले भनिन्, ‘कागजात मिल्दैन भनेर दुस्ख दिने गर्छन् ।’ कर्मचारीले घूस माग्ने गरेका गुनासा आउँछन् । मालपोतमा लेखनदासमार्फत बिचौलियाको काम हुने गरेको गुनासो छ ।

कर्मचारीसँग कुरा मिलाइदिने भन्दै केही रकम लिने र बाँडेर खाने प्रवृत्ति रहेको सेवाग्राहीको गुनासो छ । छिटो काम गर्न पैसा तिर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले बताए । कार्यालयमा कुनै पनि अनियमित काम नहोस् भनेर कडाइ गरिएको मालपोत प्रमुख विनोदकुमार पौडेलले बताए । ‘कुनै पनि बिचौलिया प्रवेश गर्न नमिल्ने बनाइएको छ । लेखनदास परिचयपत्रसहित आफ्नो भूमिकामा मात्र उपस्थित हुन पाउँछन्,’ उनले भने, ‘अनावश्यक चलखेल गर्न रोकिएको छ ।’

कार्यालय टाढा हुँदा धपेडी
प्यूठानस्थित मालपोत र नापी कार्यालयमा पुग्ने सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ । कार्यालय टाढा हुँदा झन् समस्या छ । कार्यालयको दौडधुपमै सेवाग्राहीको धेरै समय खर्च हुन्छ । मालपोत खलंगा बसपार्क र नापी टुँडिखेल नजिक छ । एक कार्यालयबाट अर्कोमा पुग्न आधा घण्टा लाग्छ । यसले एकै दिन काम पूरा हुँदैन ।

प्यूठान नगरपालिका–४, थापाडाँडाका सन्तोष दमाईले नापी र मालपोत एकै स्थानमा नहुँदा तलमाथि गर्दै २ दिन बितेको गुनासो गरे । ‘नापीबाट मालपोत पुग्दा झन्डै एक घण्टा लाग्दो रहेछ,’ उनले भने, ‘उकालो बाटोमा वृद्धवृद्धालाई झन् समस्या छ ।’ नामसारी, नाम सुधार, धरौटी, अंशबन्डालगायत काम, कित्ताकाट गर्ने कार्यालय एकै स्थानमा नहुँदा सेवाग्राहीलाई दुस्ख भएको मालपोत प्रमुख हीराबहादुर गुरुङले बताए । कार्यालय टाढा भएकाले सेवाग्राहीको गुनासो आएको नापी अधिकृत भरतचन्द्र अर्यालले सुनाए ।