गण्डकी प्रदेश

सातौं वालिङ महोत्सवको भव्य तयारी, ५ लाख दर्शक भित्र्याउने तयारी

प्रदिप कोइराला/स्याङ्जा  । ‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराकासाथ यही माघ १७ गतेदेखि २८ गतेसम्म वालिङ खेलमैदानमा भव्यताका साथ सञ्चालन हुन गईरहेको सातौं वालिङ महोत्सव को भव्य तयारी भएको छ ।

समृद्ध वालिङको लागि समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकासका साथै उद्योग व्यापार प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रत्येक २/२ बर्षको अन्तरालमा २०६३ सालदेखि आयोजना गरिँदै आएको वालिङ महोत्सव जिल्लाको गौरव र गरिमामय प्रस्तुति यस पटक सातौं संस्करणको रुपमा प्रादेशिक कृषि, पर्यटन, साँस्कृतिक एवम् औद्योगिक ब्यापार मेला–२०७५ श्रवणकुमारका बाबु आमाको अश्रुधाराबाट निर्मित ऐतिहासिक आँधीखोला किनारमा यही माघ १७ गते विधिवत रुपमा समुद्घाटन हुँदै छ ।

जिल्लाको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासमा अग्रसर रहँदै नेपाल सरकारद्वारा वालिङ नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने लक्ष्यलाई समेत यस महोत्सवले थप टेवा पु¥याउने विश्वास लिइएको छ । स्याङ्जा वालिङ विभिन्न गाउँबस्ती जातजाति सँस्कृतिले धनी जिल्ला शैक्षिक र प्रशासनिक क्षेत्रमा समेत राष्ट्रमै अग्रस्थान ओगट्न सफल भएको देखिन्छ । नगदेबालीको रुपमा ताजा तरकारी, सुन्तला, कफी एवम् अदुवा, पशुपालन (बाख्रा, भैंसी, कुखुरा) र उँखुखेतीमा विशेष महत्व बोकेको साथै जडिबुटि र कृषिमा आधारित साना उद्योगहरुको प्रसस्त सम्भावना बोकेको यस ठाउँलाई वालिङ महोत्सवबाट प्रचार प्रसार गरी लगानी भित्र्याउने पनि यस महोत्सवको उद्देश्य रहेको आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र ब्यापारिक गरी जम्मा ३५० वटा स्टलहरु रहने र उक्त स्टलहरु शतप्रतिशत बुकिङ भईसकेको स्टल वुकिङ समितिका संयोजक चक्रवन्धु रेग्मीले जानकारी दिए । हालसम्म प्रचार प्रसार, स्टल निर्माण, विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापारिक प्रतिष्ठान लगायत महिला समूह लगायत सबै पक्ष सँग समन्वय, छलफल/अन्तरक्रिया तथा भेला तथा बैठकहरु सम्पन्न भईसकेका छन् र ती सबै पक्ष सक्रिय रुपमा महोत्सवको तयारीको लागि जुटिरहेका छन् । नेपाली ग्रामीण बस्ती र परम्परा झल्कने गोलघर निर्माण पनि भईरहेको छ । शैक्षिक प्रदर्शनी अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा निर्मित नयाँ नयाँ आविश्कारहरुको प्रदर्शनी, पुस्तक प्रदर्शनी र राष्ट्रिय स्तरको कविता प्रतियोगिता रहने कार्यक्रम रहेको छ । त्यसैगरी महोत्सवको आकर्षक इभेण्टको रुपमा रहेको स्याङ्जा डान्स आईडल–सिजन २ का विभिन्न चरणका अडिसनहरु भईरहेका छन् । स्थानीय र राष्ट्रिय ख्याती प्राप्त लोक तथा आधुनिक विधाका कलाकारहरु, धुर्मुस सुन्तली लगायतका हाँस्य कलाकारहरुसँगको सम्झौता समेत भइसकेको कलाकार व्यवस्थापन तथा प्रचार प्रसार संयोजक पदमराज गुरूङले जानकारी दिए ।

समग्र जिल्लाको पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ जिल्ला भित्र रहेको पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी सहित महोत्सव स्थलमा फोटो प्रदर्शनी राखिएको छ । महोत्सवलाई मुक्तिनाथ विकास बैंकले मुख्य प्रायोजन गरेको छ । भने जगदम्बा सिमेण्टले विशिष्ट प्रायोजन गरेको छ । त्यसैगरी सह प्रायोजकमा गरिमा विकास बैंक र गोर्खा ब्रुअरी रहेका छन् । लोकदोहोरी प्रायोजक कामना सेवा विकास बैंक, विशेष प्रायोजकको रुपमा अटोवेज पोखरा र यामाहा मोटरसाईकल/ओशो ट्रेडर्स  रहेका छन् । प्रवेश टिकट छपाईमा एशियन थाई फुड्सको प्रीति चाउचाउ, मुख्य सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र जिल्ला समन्वय समिति स्याङ्जा रहेका छन् भने प्रबर्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ । आयोजकको रुपमा वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिका रहेका छन् भने संरक्षकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ रहेको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए ।
राष्ट्रिय जनावरहरुको प्रदर्शनीको कृत्रिम चिडियाखाना यस महोत्सवको थप आकर्षणको रुपमा रहेको छ । विविध खेलकुद, आँधीखोलामा जलयात्रा, आदिबासी जनजातिहरुको भेषभुषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीले यसपटकको महोत्सवमा निरन्तरता पाएको छ । सजावट व्यवस्थापन (बजार तथा स्टेज) समितिले विभिन्न टोलटोलमा भेला, सरसफाई र छलफल गरी बजारलाई दुलही झैं सिंगार्ने तयारी भईरहेको जानकारी समेत प्रेस विज्ञप्ति प्रकाशन गरि जानकारी दिएको छ ।
महोत्सवको प्रवेश टिकट शुल्क सर्वसाधारणको लागि रु.१००।– र विद्यार्थी सहुलियका लागि रु.७०।– तय भएको छ भने स्थायी पासको लागि रु.५००।– निर्धारण गरिएको छ । वालिङ उद्योग वाणिज्य संघका नवीकरण भएका साधारण सदस्यहरुको लागि भने पास निःशुल्क उपलब्ध गराईने संघले जनाएको छ ।
वालिङको पर्यटनमा टेवा पु¥याउने उद्देश्यकासाथ वण्डरफूल वालिङ संस्थाले आयोजना गर्ने भनिएको अन्तराष्ट्रिय माउण्टेन बाईक प्रतियोगितालाई पनि वालिङ महोत्सवले प्रबर्धन गर्ने भनिएता पनि यस इभेण्टका आयोजकहरुको तयारी नपुगेका कारण पछि सर्ने जानकारी प्राप्त भएको हुँदा हाललाई यो इभेण्ट समावेश नहुने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
कुल ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान रहेको छ भने महोत्सव अवधिभर करिब १५ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकको रहेको छ ।