सुदूरपश्चिम

हिमपातका कारण अवरुद्ध यी सात जिल्लाका यातायात सञ्चालन

अमरगढी । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई शनिबार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि बेलुकीबाट यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको सडकमा रहेको हिउँ हटाई यातायात सञ्चालन गरिएको बताइएको छ ।