प्रदेश 2

केन्द्रले प्रहरी परिचालन गर्ने कुरामा मुख्यमन्त्री राउतद्वारा कडा बिरोध

काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत आएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले संविधानको भावना तथा सङ्घीयताको मर्मविपरीत उक्त विधेयक आएकाले तत्काल फिर्ता गर्नुपर्ने बताए । प्रहरी परिचालनदेखि शान्ति सुरक्षाका अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्था गरिएकामा मुख्यमन्त्री राउतले आपत्ति प्रकट गरे ।

प्रदेश नं २ को सरकारले यसअघि नै संविधानबमोजिम प्रदेश प्रहरी ऐन ल्याइसकेको उनले स्पष्ट पारे । संविधानको अनुसूचीमा व्यवस्था भएअनुसारको क्षेत्राधिकारभित्र रहेर सङ्घीय, प्रदेश र स्थानीय सरकार चल्नुपर्ने मुख्यमन्त्रीले स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले थपे, “यी दुवै विधेयक फिर्ता गर्नुपर्छ, सबैको मनोभावनाअनुसार आउनुपर्छ । संविधानले प्रदेश सरकारलाई अधिकार दिएको छ । संविधानले प्रदेशभित्र प्रहरी प्रशासन हुने स्पष्ट गरेको छ । प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिएको छ ।” उहाँले नेपाल–भारतबीच सदियौँदेखिको राम्रो सम्बन्ध रहेको सुनाउँदै दुवै मुलुकको हित हुने काम हामीले गर्नुपर्नेमा जोड दिए ।