राजनीति

कम्युनिष्ट अपराधीहरुले गोली हानेर मारेका तरुण नेता रोहितलाई सहिद घोषणा गर्न अध्यक्ष बस्नेतको माग

बुटवल। नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले पाचौंदिनको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्धको बिरोध प्रदर्शन प्रदेश नम्वर ५ को राजधानी बुटवलमा गरेको छ। तरुण दल रुपन्देहीको संयोजनमा केन्द्रीय समितिले बुटवलमा प्रदेश ५ का सबै १३ जिल्लाको तरुणहरुको व्यापक सहभागीतामा सरकार विरोधी कार्यक्रम गरेको हो। तरुण दलले प्रदेश नम्वर १ बाट शुरु गरेको विरोध कार्यक्रमको पाँचौ दिन प्रदेश ५को बुटवलमा विरोध कार्यक्रम गरेको हो।

बिरोध कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेका अध्यक्ष जीतजंग बस्नेतले केपी र प्रचण्डको आडमा काँग्रेस र तरुण दलका नेता तथा कार्यकर्तालाई अनावश्यक दुःख दिने कार्य बन्द गर्न प्रहरी प्रशासनलाई बस्नेतले चेतावनी दिएका छन्। अधिनायकवादी कम्युनिष्ट सरकारसँग लड्न अबको दिन अझै चुनौतीपूर्ण हुने उल्लेख गर्दै बस्नेतले सरकार र पुलिस प्रशासनसंगको डरले पदिय दायित्व बोकेको साथीहरु संगठन नगर्ने अनि सडकमा नआउने हो भने घरमै परिवारको हेरचाह गरेर बस्न सल्लाह दिदै त्यस अवस्थामा दलले नयाँ साथीहरुलाई जिम्ममा दिने बताए।

प्रदेश नं ५ कै रोल्पा जिल्लाका लिवाङ नगरका अध्यक्ष रोहित पुनलाई कम्युनिष्टका केही अपराधीका यूवा समुहले गोली हानेर मारेको स्मरण गर्दै अध्यक्ष बस्नेतले सरकारले रोहितलाइ सहिद घोषणा गर्नु पर्ने माग राखे। उनले तरुण दलका तर्फबाट रोहित पुनलाई सहिद घोषणा गर्ने प्रतिबद्धता गरे। प्रदेश ५ का सांसदहरुको लागि खरिद गरेको गाडीहरुमा चरम भ्रष्टाचार भएको र छानबिन गरेर कार्वाही नगरे तरुण दल उक्त गाडी खोस्ने चेतावनी दिए।

उक्त दलका उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही, कोषाध्यक्ष विद्वान गुरुङलगायत नेताहरुले उक्त कार्यक्रममा सम्बोधन गरेका थिए ।