राजनीति

ओली सरकार इतिहास मेटाउन सक्रिय देखियोः वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताएका छन् । काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उनले “देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उनीहरुकै इतिहास मेटाउन सरकार लागेको छ, यसका विरुद्ध काङ्ग्रेस आन्दोलनमा उत्रन्छ”, भने ।

नेता पौडेलले जहाज खरीद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले सङ्लग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने बताए ।

जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष एवं काङ्ग्रेस नेत्री सुजाता कोइरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसलाई कसैले सिध्याउन नसक्ने बताए। “देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनेहरु एकजुट हुनुपर्छ, अर्कोलाई सक्छु भन्नेहरु आफैँ सकिनेछन्”, उनले भने ।

काङ्ग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए । “देशमा राजश्व सङ्कलनदेखि विकासको गति सुस्त रहेको छ यो देशका लागि खतरा हो”, उनले भने ।

जीपी कोइराला फाउण्डेशन ललितपुर जिल्ला संयोजक जीतेन्द्र श्रेष्ठ, राष्ट्रिय सभाकी सांसद धना खतिवडा, जीपी कोइराला फाउण्डेशन प्रदेश–३ संयोजक रीता खनाल, पूर्वसांसद रामकृष्ण चित्रकारलगायतले काङ्ग्रेसले जिम्मेवार र सशक्त प्रतिपक्षका रुपमा देशलाई सङ्कटबाट बचाउनुपर्नेमा जोड दिए । कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी गरिएको थियो ।