राजनीति

ओली सरकार मेडिकल माफियाको चङ्गुलमा फसेर डा. केसी र काँग्रेसलाई बेवास्ता गर्योः गगन थापा

चितवन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले काङ्ग्रेसमा आत्मसमीक्षा गर्दै आत्मविश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस माडी नगर समितिले आज माडीमा आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा थापाले पार्टी बलियो बनाउन लाग्नुपर्ने समय आएको बताए ।

निर्वाचनमा भएका तिक्तता हटाउँदै पार्टीलाई बलियो बनाएर लैजानु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । अहिले काङ्ग्रेस सङ्कटमा परेको भन्दै उनले सङ्कटका समयमा आत्मविश्वास बढाएर अघि बढ्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेस सङ्कटमा पर्दा सधैँ मुलुक पनि सङ्कटमा पर्ने गरेको भन्दै उनले यो सङ्कटबाट उठाउने जिम्मेवारी पनि काङ्ग्रेसकै काँधमा रहेको बताए । संसद्बाट चिकित्सा विधेयक पास गर्दै गर्दा सत्तापक्ष मेडिकल माफियाको चङ्गुलमा फसेर गोविन्द केसी र विपक्षीलाई बेवास्ता गरेको उनको भनाइ थियो ।

नेपाली काङ्ग्रेस माडी नगर समितिका सभापति कमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापती टेकप्रसाद गुरुङ, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, पृथ्वीमान गुरुङ, टीकाराम न्यौपाने, महासमिति सदस्य सविता बराल, साजनकुमार महतोलगायतले बोलेका थिए। कार्यक्रममा ३४ जना प्रजातन्त्रका सेनानीलाई सम्मान गरिएको थियो ।