कर्णाली प्रदेश

हुम्लामा पुनः हिमपात, कार्यालय बन्द

हुम्ला । मौसममा बद्ली भएपछि हुम्लालगायत कर्णाली प्रदेशका अन्य जिल्लामा पुनः हिमपात शुरु भएको छ ।

हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । सिमकोट विमानस्थलमा हिउँ पन्छाउने कार्य प्रभावित भएको छ । गएको सोमबारदेखि लगातार परेको हिउँ पग्लन नपाउँदै पुनः हिमपात हुँदा यहाँको दैनिकीमा समस्या भएको स्थानीय राजबहादुर बोहराले बताए । हिमपातका कारण सवारी साधन अवरुद्ध छ । बजार पनि सुनसान बनेका छन् । पाँच दिनदेखि हवाई सेवा सेवा ठप्प हुँदा दैनिक उपभोग्य सामानको समस्या देखिन थालेको सिमकोटका व्यापारीले बताएका छन् ।

हिमपातले हुम्लाको तापक्रम पुनः माइनसमा झरेको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँमा जनजीवन बढी प्रभावित बनाउनुका साथै स्थानीयलाई घरबाट बाहिर निस्कनसमेत समस्या बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपातले जिल्लाको दक्षिण गाउँपालिकाका सरकारी तथा गैरसरकारी कार्यालय शुक्रबार दिनभर बन्द भयो ।