प्रदेश 1

निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भवः मुख्यमन्त्री

बनियानी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले भन्नुभयोने, “अर्थतन्त्रको तीन खम्बामध्ये निजी क्षेत्र महत्वपूर्ण हो, निजी क्षेत्रसँग सहकार्य नगरी मुलुकको आर्थिक विकास सम्भव छैन ।”

निजी क्षेत्रलाई सहकार्यका लागि प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममै आह्वान गरेको उनले बताए । समृद्धिको यात्रामा सहकार्यका लागि निजी क्षेत्रलाई प्रदेश सरकारले लगानीको वातावरण निर्माण र सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको भनाइ थियो । “ढुक्क र उच्च मनोबलका साथ सरकारसँग सहकार्य गर्न म निजी क्षेत्रलाई आह्वान गर्छु”, उनले भने, “सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको छ ।”

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई औपचारिकतामा परिणत गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । मुलुकले लामो राजनीतिक आन्दोलनको कालखण्ड पूरा गरिसकेकाले अब आर्थिक क्रान्तिको पालो भएको राईले बताए ।

प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले ताप्लेजुङको ओलाङ्चुङगोलादेखि झापाको कचनकवलसम्म सडक खन्ने कामलाई तीव्रता दिएको बताए । “बङ्गलादेश, भारत लगायतका देशसँग व्यापार गर्न सहयोग पुग्नेछ,” उनले भन । सो ेअवसरमा भद्रपुर विमानस्थलका प्रमुख पूर्णप्रसाद चुँडाल, शारीरिक सुगठनका खेलाडी राम दाहाल, तेक्वान्दो खेलाडी दीपेन धिमाल तथा याङ्किला राईलाई सम्मान गरिएको थियो ।

आजदेखि शुरु भएको महोत्सव माघ २३ गतेसम्म चल्नेछ । महोत्सवमा मुलुकका विभिन्न स्थानका उत्पादनका साथै भारत, बङ्गालादेश र पाकिस्तानका उत्पादनका २२० कक्ष राखिएको छ ।