राजनीति

काँग्रेसको टिप्पणीः चिकित्सा विधेयक पारितपछि ओली सरकारप्रति नागरिक विश्वास घट्यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।

प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा काङ्ग्रेसले आज आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास कायमै राखेको आरोप लगाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रा डा गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा’ सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको टिप्पणी गए ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको काङ्ग्रेसले आरोप लगाएको छ । काङ्ग्रेसले यस सम्बन्धमा चाँडै राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
यसैबीच काँग्रेस संसदीय दलले संसदीय मर्यादा कायम राख्न सभामुखबाट निष्पक्ष एवं विवेकपूर्ण भूमिका निर्वाह नभएको आरोप लगाएको छ । सरकारलाई दबाब दिन काँग्रेसले संसद्मा गरेको विरोध कायम रहेकै अवस्थामा प्रतिनिधिसभाबाट आज चिकित्सा शिक्षा विधेयक पारित भएपछि बसेको काँंग्रेस संसदीय दलको आकस्मिक बैठकले सभामुखबाट निष्पक्षता र निर्भीकताको भूमिका निर्वाह नभएको निष्कर्ष निकालेको छ ।
काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आकस्मिक बैठकले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य तथा संस्दको मर्यादा कायम राख्न सङ्घर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
बैठकले विधेयक सच्चाउन संसद भित्र र र बाहिर क्रियाशील रहने निर्णय गरेको छ । काँग्रेसले अनशनरत प्रा डा केसीको जीवन रक्षाका लागि सरकारसँग माग पनि गरेको छ । बैठकले सरकारले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको सँघारमा पु¥याएको ठहर गर्दै यस सम्बन्धमा भएको विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउने निर्णय गरेको प्रमुख सचेतक खाणले बताए ।