गण्डकी प्रदेश

नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गरेका थिए ।

सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत गरिएको थियो ।

विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी यसै सभाबाट पारित गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिए । महानगरपालिकाले यसअघि ४३ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।

नगरसभामा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सङ्घ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए ।

जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिए । नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।