बाग्मती

महिला पत्रकारको राष्ट्रिय सम्मेलन चितवनमा

चितवन । नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुने भएको छ ।पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय पत्रकार महिला सहभागी हुने भेलाको व्यवस्थापनको जिम्मा पाएका महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए।

भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल हुने पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिए । भेलाले पत्रकारितामा महिलाको उपस्थितिलाई थप बलियो बनाउन तथा पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देश गर्ने महासङ्घको विश्वास छ । भेलालाई सफल पार्न कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको अध्यक्ष खतिवडाले बताए । भेला सम्पन्न गर्नका लगिा विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ ।

यसैबीच सम्मेलनलाई सभ्य र व्यवस्थित तुल्याउन महासङ्घ चितवनले जिल्लास्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रहसमेत गरेको छ । महासङ्घका केन्द्रीय सदस्य सृजना अर्यालका अनुसार सम्मेलनमा सबै प्रदेश कमिटी, जिल्ला शाखा र प्रतिष्ठानका महिला नेतृत्व, महासङ्घको केन्द्रीय समिति, केन्द्रीय समितिका पूर्वमहिला नेतृत्वहरु, पत्रकार महिलाका संस्थाका नेतृत्वको सहभागिता रहनेछ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम छ ।