आर्थिक

शेयर बजार झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।२ विन्दुले घटेर एक हजार १७२।७८ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०८ विन्दुले घटेर २४८।६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर रु २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर घटेको छ । होटल २।२९, विकास बैंक २।२, निर्जीवन बीमा १७।२७, उत्पादन ११।४८ र अन्य ७।४७ विन्दुले बढेको छ । यस्तै बैंकिङ १।९९, जलविद्युत् ९।०३, वित्त ०।३६, लघुवित्त २।२६, जीवन बीमा १०।२२ विन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा नागरिक लगानी कोष, कन्काई डेभलपमेन्ट बैंक, तिनाहुँ डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, ङादी ग्रुप अफ पावर र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै जनता बैंक, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड, सेन्ट्रल फाइनान्स लिमिटेड, नागबेली लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्सुरेन्स कम्पनीका शेयरधनीले आज बढी गुमाएका छन् ।