बाग्मती

कर्मचारीको रोजाइ, प्रदेश नं ३ र काठमाडौँका स्थानीय तह

काठमाडौँ । समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन् । कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् ।

प्रदेशमा ५८ हजार ६२३ ले समायोजन फाराम भरेकामध्ये सबभन्दा बढी प्रदेश नं ३ मा १३ हजार ६८४ ले रोजेका छन् । प्रदेशको कूल दरबन्दी २२ हजार ७५५ मध्ये आधाभन्दा बढी प्रदेश नं ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले जानकारी गराए । मन्त्रालयले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो । प्रदेशमा सबभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन् ।

समायोजनका लागि एक कर्मचारीले सातवटै प्रदेश फाराम भर्न पाउने व्यवस्था गरिएको छ । कर्मचारीको दोस्रो रोजाइमा प्रदेश नं ५ परेको छ । प्रदेश नं ५ मा १० हजार ४४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन् । यस्तै क्रमशः तेस्रोमा प्रदेश नं १ मा नौ हजार २९०, चौथोमा प्रदेश नं ४ मा सात हजार ९८४, पाँचौँमा प्रदेश नं २ मा छ हजार ९२७ र छैठौँमा पाँच हजार २०६ रहेका छन् ।

उपसचिव निरौलाले समायोजन रोजेकामध्ये ज्येष्ठताका आधारमा समायोजन गरिने बताए । प्रदेशमा २२ हजार ७५५ कर्मचारी आवश्यक रहेकोमा ५८ हजार ६२३ कर्मचारीले समायोजनका लागि फाराम भरेका थिए । कर्मचारीले समायोजनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तह नै पहिलो रोजाइमा परेका छन् । कर्मचारीको रोजाइमा ७५३ स्थानीय तहमा सबभन्दा बढी काठमाडौँ महानगरपालिका नै कर्मचारीको रोजाइमा परेको छ । काठमाडौँ महानगरमा समायोजन हुनका लागि सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेको उनले बताए । स्थानीय तहमा तीन लाख ५४ हजार २२५ ले समायोजनका लागि फाराम भरेका छन् । एक कर्मचारीले ७५३ स्थानीय तहमा फाराम भर्न पाउने व्यवस्था गरिएको थियो ।