उर्जा

विद्युत् प्राधिकरणको स्वामित्वमा हुनुपर्ने

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको सम्पूर्ण स्वामित्व नेपाल विद्युत् प्राधिकरणमातहत हुनुपर्ने मागसहित उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गुणस्तरीय सेवा नदिएको र चर्को महसुल मात्र लिने गरेको विरोधमा उपभोक्ताले सङ्कलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।  त्रिवेणीले उपभोक्ता थप्ने, आर्थिक आम्दानी गर्नेबाहेक कुनै प्रकारको सेवामा ध्यान नदिएको आरोपसहित हस्ताक्षर सङ्कलन गरिएको छ । मार्तडी आसपास क्षेत्रका ७१२ जनाको संयुक्त हस्ताक्षर प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बुझाएको दलित अधिकारीकर्मी गोरख सार्कीले बताए । बीस वर्षका लागि जलविद्युत केन्द्रको जिम्मा लिएको त्रिवेणी बचत तथा ऋण सहकारीसँग विद्युत्को दिगोपना र स्थायित्वका लागि कुनै प्रकारको योजना नरहेकाले तत्काल प्राधिकरणलाई नै जिम्मा लिन मागसहित स्थानीयवासीले हस्ताक्षर बुझाएको सार्कीले बताए।

स्थानीय उपभोक्ताले गएको तीन वर्षदेखि नै हस्ताक्षर अभियान थालेका हुन् । सहकारीले जिम्मा लिएर महसुल लिने तर सेवा नदिने काम गरेकाले प्राधिकरणले नै लिनु पर्ने दाबी उनीहरूको छ । विद्युत् अवरुद्ध भएको महीना दिन बिते पनि नयाँ मेशिन खरीद गर्नुभन्दा पुरानै मर्मतमा ध्यान दिएको आरोप उनीहरूको छ । केही व्यक्तिको कमाइ खाने माध्यम बनेको, सेवा नियमित नदिएको र बत्ती नबलेको समयमा पनि महसुल लिने गरेको जस्ता आरोप हस्ताक्षर गर्नेको छ ।

बीस वर्ष आयु भएको मेशिन ३० वर्ष पुगिसक्दा पनि नयाँ खरीदको कुनै प्रक्रिया थालनी नगर्नु नै उपभोक्तामाथि ठगीबाहेक अरु नभएको आरोप उनीहरुको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले प्राविधिक विषयबारे जानकारी लिने र जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल गर्ने बताए । सदरमुकामको विद्युत् नियमित र गुणस्तरीय हुनुपर्नेमा आफू पनि सचेत रहेको अधिकारी बरालको प्रतिक्रिया थियो ।