गण्डकी प्रदेश

गाउँपालिकाको भवन निर्माण शुरु

म्याग्दी । म्याग्दीको पोखरेबगरको गोजेमा अन्नपूर्ण गाउँपालिकाको भवन निर्माण शुरु भएको छ । भवन निर्माणका लागि गाउँपालिकाले सार्वजनिक र व्यक्तिगत गरेर १४ रोपनी सात आना जग्गाको व्यवस्थापन गरेको छ । जमीन सम्माएर भवन निर्माणको लागि प्रारम्भिक चरणको काम शुरु गरेको गाउँ कार्यपालिकाको प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिए ।

भवन निर्माण र जग्गा व्यवस्थापनका लागि चालू आवमा रु ५० लाख विनियोजन गरेको उनले बताए । नौ रोपनी सार्वजनिक, चार रोपनी आठ आना व्यक्तिगत र एक रोपनी तीन आना गुठीको जग्गा भवनका लागि नक्साङ्कन गरिएको भवन निर्माण तथा जग्गा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष खड्ग गिरीले बताए।

गाउँपालिकालाई स्थानीय जालवीर पुर्जा, गोपाल बरुवाल, रामबहादुर बिसी, सन्तोष बरुवाल, कप्रसाद पुर्जा, गोकुल बरुवाल र शिवालय गुठी व्यवस्थापन समितिले जग्गा उपलब्ध गराउने लिखित सम्झौता भएको छ ।

उनीहरुले निःशुल्क उपलब्ध गराएको मूल्य बजार भाउअनुसार रु एक करोडभन्दा बढीको भएको प्रवक्ता बरुवालले बताए । पूर्वाधार अभावमा गाउँपालिका र विषयगत कार्यालयका शाखा भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् । साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।