पर्यटन/संस्कृति

सेतो मच्छिन्द्रनाथको प्राणप्रतिष्ठा

काठमाडौँ । करुणामय देउताका रुपमा पुजिने जनबाहाद्यो (सेतो मच्छिन्द्रनाथ) को आज प्राणप्रतिष्ठा र बज्रयानविधिअनुसार दशकर्म पूजा गरिएको छ ।

सेतो मच्छिन्द्रनाथको महास्नानपछि बज्रयान विधिअनुसार जनबहालका बौद्धविद्वान् अष्टरत्न बज्राचार्यबाट दशकर्म पूजा गरिएको हो । सेतो मच्छिन्द्रनाथलाई दशकर्म विधि (जन्मदेखि मृत्युसम्म तथा महिला र पुरुषमा गरिने सबै पूजाविधि) नेवारी समाजमा गरिने प्रचलनअनुसार गरिने परम्परा छ ।

सेतो मच्छिन्द्रनाथलाई केटा र केटीका रुपमा पूजिने गरिन्छ । यसअघि सेतो मच्छिन्द्रनाथको महास्नानपछि माघ ७ गते गरी प्राणप्रतिष्ठासँगै दशकर्म विधिको पूजा गरिएको हो ।

सर्वसाधारणलाई सेतो मच्छिन्द्रनाथको दर्शन दिइएको बेला परम्पराअनुसार नेवारी पँय्ता बाजाको धुन बजाइएको थियो । सेतो मच्छिन्द्रनाथको दर्शन गर्न ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति थियो । दशकर्म विधिपछि सेतो मच्छिन्द्रनाथलाई आफ्नो आसनमा विराजमान गराइएको थियो ।