सुदूरपश्चिम

भारताल वन क्षेत्रमा साझेदारी कार्यक्रम लागू

अत्तरिया । कैलालीको राष्ट्रिय वन भारताल वन क्षेत्रमा साझेदारी कार्यक्रमअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । झण्डै दुई हजार ६५३ हेक्टर क्षेत्रफलमा फैलिएको भारताल वन क्षेत्रलाई समुदाय स्तरमा लगेर संरक्षण गर्ने उद्देश्यले साझेदारी कार्यक्रमअन्तर्गत वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको हो ।

एकतीस सामुदायिक वनले घेरिएको भारताल वन क्षेत्रलाई साझेदारी कार्यक्रमअन्तर्गत लैजाने पहल २०७० सालबाटै शुरु भएको डिभिजन वन कैलालीका सहायक वन अधिकृत भीम ढकालले बताए । राष्ट्रिय वन क्षेत्रमा फँडानी र काठ चोरी तस्करी बढी हुने गरेकाले भारतालमा साझेदारी वन व्यवस्थापनको १० वर्षे कार्ययोजना तयार गरिएको ढकालले जानकारी दिए । भारताल वनमा पुराना बूढा सालका रूख रहेको र काँटछाँट गरी नयाँ सालको जङ्गल हुर्काउने वैज्ञानिक वन व्यवस्थापन विधिलाई साझेदारी कार्यक्रमका माध्यमबाट लागू गरिएको उनले बताए । यसबाट सरकार र स्थानीय उपभोक्ताले वार्षिक करोडौँको आम्दानी गर्ने छन् भने पुरानो जीर्ण अवस्थाको वनमा पुनः उत्पादन भई नयाँ वन क्षेत्रको विकास हुनेछ ।

पछिल्लो समय कैलालीमा दिनदहाडै काठ चोरी तस्करी भइरहेकाले भारताल वन स्थानीय उपभोक्ताकै संरक्षणमा लैजानुको विकल्प थिएन । साझेदारी कार्यक्रमअन्तर्गत सालको ८० वर्षे बालीचक्रका आधारमा १० वर्षे पुनः उत्पादन कार्ययोजना शुरु भएको छ । पहिलो चरणमा भारताल साझेदारी वैज्ञानिक वन व्यवस्थापनको १० वर्षे कार्ययोजना तयार भएको छ । जसअन्तर्गत सालको बालीचक्र ८० वर्षको हुने भएकाले आठ ‘प्लटिङ’मा वन क्षेत्र विभाजन गरिएको हुन्छ । प्रत्येक एक प्लटिङलाई १० भागमा पुनः विभाजन गरी पुनः उत्पादन गरिने जनाइएको छ ।

कार्यालयका अनुसार कैलालीमा १९ सामुदायिक वन र दुई राष्ट्रिय वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । सरकारले २०६० सालमा ल्याएको वनको साझेदारी व्यवस्थापन दिग्दर्शनको आधारमा साझेदारी कार्यक्रमको माध्यमले वैज्ञानिक वन व्यवस्थापनको नीति ल्याएको हो । यसअघि कैलालीमा दुई हजार ५०० हेक्टर सालको बाह्रवन वनमा साझेदारी कार्यक्रम लागू गरिएको थियो । कैलालीको तराई र चुरे क्षेत्रमा दुई विधिबाट वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाइएको छ । वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत वन क्षेत्रमा रुखको नक्साङ्कन, रुखको वर्गीकरण, समयावधि पुगेका पुराना रुख कटान, अन्य रुख संरक्षण र कटान गर्ने स्थानमा नयाँ रुख रोपण गरिने कार्ययोजनामा उल्लेख छ । वैज्ञानिक वन व्यवस्थापनका लागि चक्रीय प्रणालीमा पुराना रुख काट्ने र नयाँ रुख रोप्ने काम सँगसँगै गरिनेछ ।

हाल वैज्ञानिक वन व्यवस्थापनमा समाहित भएका १९ सामुदायिक वनबाट मात्रै वार्षिक पाँच लाख ६५ हजार ४६३ क्युफिट काठ उत्पादन हुने लक्ष्य राखिएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार वैज्ञानिक वन व्यवस्थापनबाट वार्षिक एक हजार ४३० लाई प्रत्यक्ष रोजगारी तथा पाँच लाख ३२ हजारलाई दैनिक ज्यालादारीको रूपमा काम लगाउन सकिने छ । कैलालीका वनबाट वार्षिक रु तीन अर्ब आम्दानी गर्न सकिने एक अध्ययनले देखाएको छ । कार्यालयको तथ्याङ्कअनुसार कैलालीमा ५४८ सामुदायिक वन दर्ता छन् । केही वन दर्ता हुने क्रममा रहेकाले ५५५ पुग्न सक्ने सहायक वन अधिकृत ढकालले बताउनुभयो । दर्ता भएका सामुदायिक वनले ६० हजार हेक्टर क्षेत्रफल ओगटेका छन् ।

कार्यालयका सू्चना अधिकारीसमेत रहेका ढकालले सामुदायिक वनका उपभोक्ता मात्रै एक लाख १९ हजार रहेको जानकारी गराउनुभयो । उहाँले सामुदायिक, साझेदारी, राष्ट्रियलगायत वन गरी जिल्लामा सात लाख ६४ हजार उपभोक्ता रहेका छन् । कैलालीमा कूल क्षेत्रफलको दुई लाख पाँच हजार ९३९ हेक्टर ९६२ दशमलव ६८ प्रतिशत० वन क्षेत्र छ । जसअन्तर्गत तराई र भावर क्षेत्रमा एक हजार ९३१ वर्ग किलोमिटर ९५९ दशमलव ७० प्रतिशत० र चुरे क्षेत्रमा एक हजार ३०३ दशमलव सात वर्ग किलोमिटर ९४० दशमलव ३० प्रतिशत० वन क्षेत्र छ ।