पर्यटन/संस्कृति

पर्यटन वर्षका लागि प्रतीक चिन्ह बनाउन आह्वान

बलेवा । गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई रु ५० हजार पुरस्कारको घोषणा गरेको छ । लोगो तथा नाराका लागि प्रतिस्पर्धा गर्न सार्वजनिक सूचना जारी गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुरस्कारको घोषणा गरेको हो ।

सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार लोगो र नाराको लागि प्रतिस्पर्धा गराउन लागिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।

लोगो तथा नारा निर्माणको लागि संस्था वा व्यक्ति जोकोहीले प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतिस्पर्धामा सहभागीले तयार पारेको लोगो र नारा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको ठेगनामा पढाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै इमेल मार्फत पनि प्रतिस्पर्धामा सहभागी हुन सकिने मन्त्री लम्सालले जानकारी दिए ।