प्रदेश 1

ट्याक्सी चालकबाट बढी सहयोग

सोलुखुम्बु । मध्य दूधकोशीको काँकुमा जन्मनु भएका फुर्वा शेर्पा धेरैको धन्यवादको पात्र बनेका छन्। विगत १४ वर्षदेखि अमेरिकामा ट्याक्सी चालक रहेका शेर्पाले नेपालका विभिन्न व्यक्तिलाई सहयोग गरेका छन् । शेर्पाले आफ्नै पहलमा जिल्लाको नेचासल्यानका आङपासाङ शेर्पा र काठमाडौँमा अनाथ बालबालिकालाई पढाउँदै आएका राजन विश्वकर्मालाई केही दिन अगाडि मात्रै सहयोग रकम हस्तान्तरण गरेको बताए ।

रोजगारीको सिलसिलामा मलेसिया गएका आङपासाङ शेर्पा दुर्घट्ना परी खुट्टा काट्नपर्ने अवस्था आएको भन्दै मलेसियास्थित एक अस्पतालले खुट्टा काटिदियो । “त्यहाँबाट काम गर्न नसक्ने भन्दै कम्पनीले समेत आङपासङलाई नेपाल फिर्ता पठाउने निर्णय गरेछ”, सहयोगी शेर्पाले भने, “नेपाल आउन रकम अभाव भएको थाहा पाएपछि मेरै नेतृत्वमा अमेरिकाबाट रु ६ लाख रकम सङ्कलन गरेर उनलाई नेपाल ल्यायौँ ।” काटिएको खुट्टामा पुनः क्यान्सर भएपछि उपाचार खर्च अभाव भएको खबर पाइयो ।

शेर्पाले सुनाए, “सानो सहयोगले मान्छेको जिन्दगीमा ठूलो महत्व राख्छ, त्यसैले शेर्पा किन्दुक अमेरिकामार्फत सहयोग सङ्कलन गरी करीब रु छ लाख सहयोग ग¥यौँ ।” शेर्पा किन्दुक अमेरिकाका खेलकूद संयोजक समेत रहनुभएका फुर्वा शेर्पाको पहलमा सङ्कलन भएको रु पाँच लाख ७४ हजार ७० यही सोमबार हस्तान्तरण गरिएको छ । यस्तै अनाथ बालबालिकालाई सहयोग गर्दै आउनुभएका राजन विश्वकर्मालाई समेत रु एक लाख २२ हजार सहयोग गरेको शेर्पाको भनाइ छ । उक्त सहयोग शेर्पाको एक्लो प्रयासबाट भएको बताइएको छ । सहयोग सङ्कलनको अभियान उहाँ आफैँले सञ्चालन गर्नुभएको हो ।

“गाउँ समाजमा केही गर्छु भन्ने भावना भएकाले पछाडि परेकालाई सहयोग गर्नुपर्छ”, शेर्पाले भने, “यस्ता व्यक्तिको पहिचान गरी सहयोग गर्ने मेरो भविष्यको योजना हो ।” विभिन्न कारणले पछाडि परेका समाज र व्यक्तिलाई अगाडि बढाउनु सबैको कर्तव्य रहेको शेर्पाको भनाइ छ । सामाजिक भावनाको विकास आवश्यक भएको भन्दै समाज रूपान्तरणमा सबैलाई एक भएर अगाडि बढ्न समेत समाज सेवी शेर्पाले आग्रह गरे । “देश विकासका लागि सबैले सकरात्मक सोचका साथ अगाडि बढ्न सकेको खण्डमा कोही पनि गरीब बन्नुपर्ने स्थिति हुँदैन ।”