प्रदेश 1

घुम्ती शिविरमा तीन सयलाई नागरिकता

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् ।जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताए ।

त्यस्तैगरी २५० जनाले तस्वीरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लास्थित सात वटा कार्यालयले सेवा प्रवाह गरेका थिए । शिविरमा कृषि ज्ञान केन्द्र इलामबाट माटोको नमूना परीक्षण गरिएको थियो । फाकफोकथुम–१, ३ र ६ का ८२ जना कृषकको माटोको नमूना परीक्षण गरिएको छ ।

नेपाल टेलिकमबाट ४१ लाई सहुलियतमा मोबाइलको सिमकार्ड वितरण गरिएको छ । आयुर्वेद औषधालयले करीब २०० बिरामीलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । करदाता कार्यालय, डिभिजन वन कार्यालयले सर्वसाधारणलाई परामर्श सेवा उपलब्ध गराएका थिए ।

गाउँपालिका भएपछि पहिलोपटक घुम्ती शिविर आयोजना भएकाले सेवाग्राहीको चाप बढेको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए। उनले गाउँपालिकाले सबै सेवा एकै ठाउँमा दिएर गाउँवासीका लागि ठूलो राहत पु¥याएको विचार राख्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि स्थानीयस्तरमै जिल्लाबाट प्राप्त हुने सेवा प्रवाह गरिने बताए ।