शिक्षा

सामुदायिक विद्यालयबीच एकीकरण

कावासोती । नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् । विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने क्रम शुरु भएको हो । नवलपरासीको देवचुली नगरपालिका रहेका सात वटा विद्यालय हालसम्म एक अर्कामा एकीकरण भएका छन् ।

दुई वटा विद्यालय एकीकरणको तयारीमा रहेका छन् । देवचुली नगरपालिकामा रहेको लक्ष्मी आधारभूत विद्यालय र कुमारवर्ती आधारभूत विद्यालय, बरचुली माध्यमिक विद्यालयमा गाभिएका छन् । सोही नगरपालिकामा रहेको धु्रवज्योति आधारभूत विद्यालय देवचुली माविमा गाभिएको छ भने देवचुली आधारभूत विद्यालय भिमसेन आधारभूत विद्यालयबीच एकीकरण भएको छ ।

देवचुली नगरपालिकामा रहेको प्रगति आधारभूत विद्यालय र जनज्योति माविबीच एकीकरण गर्ने अन्तिम तयारी गरिएको छ । कक्षा छसम्म पढाइ हँुदै आएको प्रगति आधारभूत विद्यालयमा करीब ११२ विद्यार्थी भर्ना भए पनि ८० को हाराहारीमा मात्रै विद्यार्थी नियमितरुपमा विद्यालय आउने गरेका छन् । विद्यालयमा पाँच जना स्थायी, एक अस्थायी, एक कार्यालय सहायक र दुई बाल शिक्षामा कार्यरत शिक्षक रहेका छन् । विद्यार्थीको सङ्ख्या कम भएकै कारण नजिकै रहेको अर्को विद्यालयमा समायोजन गर्न लागिएको नगर शिक्षा संयोजक मोती रिजालले जानकारी दिए ।

विद्यार्थी सङ्ख्या, शैक्षिक उपलब्धि र शिक्षाको गुणस्तर वृद्धिका लागि एकीकरणले सहयोग पुग्ने संयोजक रिजालले बताए । विद्यालय एकीकरणपश्चात् विद्यालयको भौतिक संरचना कम बनाए पुग्ने भएकाले यसले सरकारको आर्थिक भारसमेत घटाउने उनले बताए । एकीकरणपश्चात् शिक्षक सङ्ख्या धेरै भएमा अन्य दरबन्दी आवश्यक भएको स्थानमा खटाउन सकिने हुँदा आवश्यकताअनुसारको शिक्षक दरबन्दी मिलानमा समेत सहयोग पुग्ने संयोजक रिजालले बताए ।

विद्यार्थी सङ्ख्या कम भएका, भौतिक संरचना कमजोर भएका विद्यालय नजिकै रहेका विद्यालयसँग एकीकरण गरिएको जनाइएको छ । बढीमा आधा घण्टाको पैदलयात्रामा विद्यालय पुग्न सकिने गरी एकीकरण गरिएको संयोजक रिजालले जानकारी दिए । एकीकरणले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । विद्यालय समायोजन गर्दा राज्यको लगानी र दायित्व कम हुने, शैक्षिक गुणस्तरसँगै तल्लो तहका विद्यार्थीले माथिल्लो तहका विद्यार्थीबाट संरक्षकत्वसमेत पाउन सक्ने शिक्षा तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।

प्रमुख पोखे्रलका अनुसार नवलपुरका अन्य स्थानीय तहमा भने एकीकरणको कार्य शुरु हुन सकेको छैन । एकीकरणका लागि एकीकरणमा जान चाहेका विद्यालय व्यवस्थापन समितिबीच समझदारी हुनुपर्ने भएकाले अन्यमा समेत एकीकरणको बहस शुरु भएको उनले जानकारी दिए । शैक्षिक गुणस्तर सुधारका लागि र कर्मचारी मिलानका लागि यसले सहयोग पुग्ने उनको धारणा रहेको छ ।