समाचार

छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच घाइते

मुग्लिन । पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् ।

घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना५ख ९७०६ नंको मालबाहक ट्रक र काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको ना६ख ९८९९ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

यसैबीच आज बुधबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा पनि दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट कुरिनटारतर्फ आउँदै गरेको ना६ख ९१०६ नंको ट्रक र काठमाडौँतर्फ जाँदै गरेको ना५ख २७६२ नंको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

दुर्घटनामा काठमाडौँतर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन् । उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । लामो समयपछि सिमसिम पानी पर्दा सवारीसाधन चिप्लएर अत्यधिक दुर्घटना हुने गरेका छन् ।