समाचार

विवेकशील साझाको नागरिक जवाफदेहिता अभियान : सार्वजनिक गर्यो वार्षिक संसदीय प्रगति विवरण

काठमाण्डौ । विवेकशील साझा पार्टीबाट प्रदेश नम्वर ३ की सांसद रहेकी नेता शोभा शाक्यले प्रदेश सभा सदस्यका रुपमा सपथ लिएर काम गरेको एकबर्ष पुगेको सन्दर्भ पारेर नागरिक समक्ष वार्षिक प्रगति विवरण सार्वजनिक गरेकी छन् ।

नागरिकहरुलाई अग्रिम सुचित गरेर पार्टी मुख्यालयमा आयोजना गरिएको विवरण सार्वजनिक समारोहमा प्रदेश सभासद शाक्यले संसदमा रहेको नयाँ जिम्मेवारी अत्यन्त मेहनत र सुझबुझका साथ संगालिरहेको स्पस्ट पारिन । ‘म संसदमा नयाँ हुँ जनताको विश्वासलाई म धोका दिन्न, यो बर्ष मैले इमान्दारीकासाथ जे जे गरे, सार्वजनिक गरेकी छु अर्को वर्ष अझ मेहनतकासाथ काम गर्छु तपाईंहरुको साथ, सहयोग र सुझाव चाहियो,( विवेकशील साझा पार्टी ललितपुरद्वारा आयोजित सांसदसँग नागरिक(संवाद कार्यक्रममा सांसद शाक्यले आफ्नो २६ पृष्ठ प्रगति प्रतिवेदन पेश गर्दै बताईंन् ।

प्रदेश सभाको पहिलो बैठकमा ११० सांसदहरुलाई एकएक वटा घडेरी दिने निर्णयको व्यापक विरोध गरी त्यो निर्णय रोक्न सफल भएको शाक्यले प्रतिवेदनमा उल्लेख गरेकि छन । संसदिय कोष बाँडफाँड गर्न रोकिएको देखि हेटौडामा घरहुने सांसदले घरभाडा लिन नपाउने व्यवस्था गर्न सफल भएको र त्यसलाई उपलब्धिको रुपमा लिनुपर्ने शाक्यको प्रतिवेदनमा उल्लेख छ । सांसद शाक्यले प्रतिवेदनमा संसद भित्र काठमाण्डौंका सडकका खाल्डा पुर्ने देखि १३ जिल्लामै सडक विस्तार गर्ने माग प्रदेश सभामा निरन्तर राखेको पनि आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेकि छन । शाक्यको प्रतिवेदनमा उनले एकबर्षको अवधिमा संसदबाहिर गरेका क्रियाकलापबारे पनि उल्लेख गरेकि छन ।

पार्टी मुख्यालयको प्रांगणमा आयोजित समारोहलाई सम्बोधन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले राजनीतिमा आँफुहरु नयाँ भएकाले सानातिना गल्ती हुनसक्ने तर देश र जनताप्रति कहिल्यै बेईमानी नगर्ने बताए । सांसद शाक्यलाई पनि नागरिकको हितमा प्रदेश सभामा भुमिका खेल्ने गरि निरन्तर हौसला प्रदान गर्न पार्टी शुभेच्छुकहरुलाई मिश्रले आग्रह गरे ।

प्रतिवेदन सार्वजनिक तथा सांसदसँग नागरिक संवाद कार्यक्रममा सांसद शाक्य र संयोजक मिश्रका अलावा पार्टीका केन्द्रीय सदस्यहरु समिक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, गेहेन्द्र प्रसाद दाहाल,अनुपमान सैंजु, रमेश महर्जन, ललितपुर अध्यक्ष उज्वल कृष्ण श्रेष्ठ, काठमाडौँ अध्यक्ष अनुपा श्रेष्ठ लगायतका नेता तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

विवेकशील साझाबाट प्रदेश सभामा ३ जना सांसदहरुले प्रतिनिधित्व गरेका थिए । बैकल्पिक राजनीतिको अगुवाई गर्दै आएको विवेकशील साझाले जवाफदेहिताको सिद्धान्त अनुरुप सांसदसँग नागरिक संवाद कार्यक्रमको आयोजना गरेको केन्द्रीय सदस्य समेत रहेकी शाक्यले बताईन् ।

विवेकशील साझा पार्टीबाट प्रदेश नम्बर ३ मा ३ जना सभासद समानुपातिक निर्वाचन प्रणाली वाट निर्वाचित भएका थिए । २ जना सांसदहरुले पार्टी छोडेपनि उनीहरुको सांसद पद के हुने भन्नेबारे निर्वाचन आयोगले छानविन गर्रिहेको छ । २ जना सांसदहरुले पार्टी छोडे पछि नैतिक हिसावले राजिनामा दिनु पर्ने आवाज उठे पनि उनीहरुले सार्वजनिक रुपमा यसवारे मुख खोलेका छैनन् ।