राजनीति

नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति सरकारको सम्पूर्ण प्रयास केन्द्रित: प्रधानमन्त्री

विशेष प्रतिनिधि/ तीर्थ भट्टराई डभोस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताएका छन् ।

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत यहाँ जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उनले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे ।

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताए ।

नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइरहेको बताउँदै संविधानलाई कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उल्लेख गरे । उनले भने, ‘‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन ।’’

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताए । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उनले उल्लेख गरे ।

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवर्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताए । “हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौँ जसले हामीलाई आशावादी बनाएको छ, हामीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन सकेसम्म प्रयास गरिहेका छौँ’’, उनले भने।

दक्षिण एशिया महान् सभ्यता र विद्वत्वर्ग रहेको क्षेत्र हो भन्दै प्रधानमन्त्री ओलीले सगरमाथादेखि हिन्द महासागरसम्म बहुभौगोलिक एवं जैविक विविधता रहेको उल्लेख गने । उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताए ।

उनले क्षेत्रीय सहयोग अभिवृद्धिका निम्ति इमान्दारी, निष्ठा र विश्वास अपरिहार्य भएकामा जोड दिँदै आपसी असमझदारी हटाउँदै क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए ।

नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानून जारी भएका बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आह्वान गरे ।

नेपालले दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवर्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिँदै उनले हालै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको स्पष्ट पारे । उनले क्षेत्रीय साझेदारी र समझदारी विकासमा पनि नेपालले उत्तिकै महत्व दिएको उल्लेख गरे ।

देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्व दिएको प्रधानमन्त्रीले बताए । उनले भने, “युवालाई रोजगारी सृजनाका लागि व्यावसायिक प्रशिक्षण र बालबालिकालाई औपचारिक शिक्षामा सहभागी गराइएको छ ।”

रोजगारीको खोजीमा धेरै बेरोजगार युवा विदेशिएकाले उनीहरुलाई स्वदेश फर्काउन आफ्नो सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउँदै उनले उनीहरुको सीपको उपयोग गर्न चाहेको जानकारी पनि दिए ।

एक प्रसङ्गमा उनले पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताए ।

उक्त सत्रमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम जी। राजन, नर्वेको सिग्भी ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भाग लिएका थिए ।

बैठकमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई पनि उपस्थित थिए ।