अन्तर्राष्ट्रिय

अमेरिकी र टर्किस् विदेशमन्त्रीबीच सिरियावारे वार्ता

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लु बीच सिरियाको बारेमा टेलिफोनमा कुराकानी भएको छ । समाचारमा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री पोम्पेओ र कावुसोग्लुबीच सिरियामा जारी द्धन्द्धको बारेमा छलफल हुनुको साथै आगामी दिनमा सिरियामा शान्ति स्थापनाका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

सोमबार सो फोनवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा उहाँहरुबीच सिरियाको जारी द्धन्द्धका साथै पछिल्लो समयमा सिरियामा अमेरिकी संलग्नताको विषयमा पनि कुराकानी भएको थियो । सिरियामा केही वर्षदेखि अमेरिकी सेना तैनाथ छ । अमेरिकी सेनालाई त्यहाँबाट फिर्ता गर्ने बारेमा पछिल्लो समयमा अमेरिका र विश्वका अरु देशहरुबीच कुराकानी जारी रहेको छ ।

सिरियामा अमेरिकी सेनाको पक्षमा लड्दै गरेका कुर्दिस लडाकूको संरक्षण र त्यसका साथै सिरिया र टर्कीको सीमा क्षेत्रमा आइएस आतंकवादीहरुको घुसपैठ तथा संलग्नताको विषयमा पनि त्यस वार्ताका क्रममा कुराकानी भएको अमेरिकी विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिरियामा आइएसले कुर्दिस् विद्रोहीहरुलाई तारो बनाउने गरेका छन् । साथै त्यहाँको सत्तापक्षीय सेनाले पनि कुर्दिसका विरुद्धमा काम गरेको बताइन्छ ।

तर अमेरिकाले सिरियामा सेना पठाएर उनीहरुको समन्वयमा तथा टर्किस सेनासँग मिलेर काम गरिरहेको छ । ती कुर्दिस विद्रोहीहरुको पक्षमा अमेरिकी सेनाले काम गरेको सिरियाली राष्ट्रपति बसर अल असद पक्षले विरोध गर्ने गरेको छ ।

तर ती कुर्दिस विद्रोहीहरुलाई टर्कीको सीमा क्षेत्रमा काम गर्न दिएको र त्यसको संरक्षण अमेरिकी सेनाले गरेकोमा टर्की र अमेरिकाको बीचमा पछिल्लो समयमा असमझदारी बढेको पाइएको छ । तर त्यस विषयमा अमेरिकाले पछिल्लो समयमा सिरिया र टर्कीको सीमा क्षेत्रमा सुरक्षित क्षेत्रको स्थापना गर्ने प्रस्ताव राखेको छ । दुवै देशको सीमा क्षेत्रको करिब ३२ किलोमीटर क्षेत्रलाई सुरक्षित क्षेत्रका रुपमा घोषणा गर्ने र त्यस क्षेत्रमा कुनै पनि किसिमको सैन्य गतिविधिहरु हुन नदिने भनी यस्तो प्रस्ताव अमेरिकाले गरेको छ ।

यसरी अमेरिकाले गरेको प्रस्तावलाई टर्कीका राष्टपति रिसेप तैयप एर्दोगानले स्वीकार गर्नुभएको छ । तर उहाँले सो क्षेत्रलाई आतंकवादीहरुबाट पनि सुरक्षित नै राख्न सक्नुपर्ने तर्क राखेका छन् । सोमबारको फोनवार्ताका क्रममा उक्त क्षेत्र प्रस्ताव अनुसार नै सुरक्षित हुनुपर्ने र त्यसलाई टर्कीको विरुद्धमा कुनै पनि हालतमा प्रयोग गर्न दिन नहुने प्रस्ताव टर्कीका राष्टपति एर्दोगानले गरेको बताए ।

सिरियामा विगत लामो समयदेखि द्वन्द्व जारी रहेको छ । सो द्धन्द्धका कारण उत्पन्न असहज परिस्थितिको असर टर्कीलाई परेको भन्दै टर्कीले आफ्नो सिमा क्षेत्रको सुरक्षा व्यवस्थामा निकै कडाई गर्ने गरेको छ । तर पछिल्लो समयमा सिरियामा भित्रिएको अमेरिकी सेनाले कुर्दिस् विद्रोहीहरुलाई साथमा लिएर सिरियाको सरकारका विरुद्धमा काम गरेपछि आफ्नो देशको सीमा क्षेत्रमा सुरक्षा खतरा झन् बढ्दै गएको टर्कीको भनाई छ ।

सिरियामा कैयौँ वर्षअघिदेखि जारी द्धन्द्धको समाधान शान्तिपूर्ण रुपमा गर्ने प्रयासहरु गरिएको भए पनि त्यो सम्भव हुन सकेको छैन । सिरियाका बारेमा संयुक्त राष्टसंघले थालेका विगतका केही शान्ति प्रयासहरु पनि सफल हुन सकेनन् । यहाँ गएको सात वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा चार लाख ३० हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । अरु लाखौँ नागरिक घाइते छन् भने लाखौँ जना शरणार्थीका रुपमा देश र विदेशका शरण लिन बाध्य रहेका छन् । पछिल्लो समयमाा त्यहाँ अमेरिकी सेना भित्रिएको भए पनि त्यहाँको हिंसा भने रोकिएको छैन ।