समाचार

अपाङ्गता भएका महिलाको अधिकारमा प्राथमिकता दिन माग

काठमाडौँ । नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता भएका महिलाको हकहितका लागि सरकारले प्राथमिकता दिनुपर्ने आवाज उठाएको छ । सङ्घको आज आयोजित १९ औँ साधारणसभामा लोकतान्त्रिक गणतन्त्रमा पनि अपाङ्गता भएका महिला पीडित रहिरनुपर्ने अवस्था दुःखद् भएको जनाइएको हो । सङ्घका अध्यक्ष निर्मला धितालले संस्थाले अपाङ्गता भएका महिलाका लागि आफ्नो तर्फबाट छात्रावासको प्रबन्ध गरिरहेको जानकारी दिए।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकार सुनिश्चित गर्न आवश्यक कानून बनाइएको बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि पनि बजेट विनियोजन गरेको बताउँदै सार्वजनिक भवन अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत ओम भट्टराईले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न स्थानीय तहलाई पत्राचार गरिसकिएको जानकारी दिए ।