समाचार

पेट्रोलपम्प सञ्चालकलाई कारवाही

वीरगञ्ज । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको हो ।

नापतौल ऐन २०२५ को दफा ३० को १ बमोजिम ती पेट्रोलपम्प सञ्चालकलाई १० दिनदेखि तीन महीनासम्मको कैद सजाय तथा रु १० हजारसम्म जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी रजनिश झाले जानकारी दिए । गत असोजमा क्षेत्रीय प्रमुख शशीभूषण यादव, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुगमनका क्रममा ती पेट्रोलपम्पका सञ्चालकले उपभोक्तालाई ठगी गरेको भेटिएको थियो ।

कारवाहीमा परेका पेट्रोलपम्प सञ्चालकमा कलैया नगरपालिका–१३ स्थित विजय आयल स्टोरका सिन्दुका देवी, कलैया–१४ स्थित मोहमद आयल स्टोरका गीतादेवी साह, कलैया बधवनस्थित शिवशङ्कर ट्रेडर्सका किशोरी साह कलवार, गढीमाई– ४ स्थित हरिओम आयल स्टोरका रीतादेवी कलवार, बारा गङ्जभवानीपुरस्थित जयकिशन आयल स्टोरका बच्चुप्रसाद जैसवाल र सिमरास्थित बाबा आयल स्टोरका पञ्कजकुमार गुप्ता रहेका छन् ।