विचार/ब्लग

हिमालको सर्वोच्च शिखर, नेपालीहरूको भौगोलिक गौरवको प्रतीक

अरबिन्द रिमाल/ सगरमाथा ! यो नाम नेपालीहरूले आफ्ना विद्वान इतिहासकार बाबुराम आचार्यबाट पाएका हुन् । चिनियाँहरू यसलाई चोमोलोङ्मा भन्छन् र यसमा आफ्नो दावी पनि जनाउँछन् ।

चंगेज खाँको घोडाका टापहरू जहाँजहाँ पुगेका थिए त्यो भाग चीनको हो भन्ने दावी सन् १९७० को दशकमा “साँस्कृतिक क्रान्ति”कालमा चिनियाँ नेता माओत्से–तुंगले आफ्ना लाल रक्षकहरूबाट गराउनुभएको थियो । त्यस चुचुरोसम्म चंगेज खाँ पुगेका त थिएनन् तर नेपालसहित बर्मा आदि देशलाई अंग्रेजहरूले चीनबाट खोसेर त्यहाँ आधिपत्य जमाएकाले त्यो पनि चीनका “पाँच औंलाहरू”मध्ये नै पर्छन् भन्ने दावी अपवादविना कम्युनिष्ट वा कुओमिंगतांग चिनियाँ इतिहासकार र राजनीतिज्ञहरूको पनि रहेको थियो ।

सगरमाथाको चर्चा गर्दा किन र कसरी यो विचार प्रकट हुन आयो म आफैं जान्दिनँ । यो प्रसंगवश आउनुपर्ने कुरा होइन भन्ने झ्वाट्ट देखिए पनि माथिको भनाइचाहिँ सत्य हो । अनि अंग्रेजहरू र तिनीहरूको प्रचारको प्रभावक्षेत्रमा पर्ने विश्वको भूभागचाहिँ सगरमाथालाई “माउन्ट एभरेष्ट” भन्छन् । तिनको दृष्टिमा यो ठीकै छ, किनभने प्रायः विश्वभरी नै अंग्रेजहरूको दवदवा भएको बेलामा विशाल भारत पनि बृटिश साम्राज्यभित्र रहेको थियो । त्यससमयमा “एभरेष्ट” नाम गरेको भूगर्भविद्ले हिमालयको त्यस भागको भौगोलिक सर्वेक्षण गर्दा विश्वको उक्त सर्वोच्च शिखरलाई पत्ता लगाएका थिए । यसको फलस्वरूप अंग्रेज सरकारले यस खोजका लागि उनलाई “सर” भन्ने सर्वोच्च निजामति मानपदवीले सुशोभित गर्दै त्यो चुचुरालाई पनि उनैको नाम दिएको थियो ।

यो रोमाञ्चकारी स्थलमा बेलायती झण्डा फहराउन अंग्रेज सरकार त्यसपछि पर्वतारोही दलहरू पठाउने योजनामा लाग्यो । यस कार्यमा सन् १९३६ मा इर्भिंग तथा म्यालोरी नाम गरेका दुईजना साहसिक अंग्रेज पर्वतारोहीहरूले आफ्नो ज्यानको आहूतिसम्म पनि दिए । विश्वमा अंग्रेज साम्राज्य रहुञ्जेल सगरमाथाको पनि अंग्रेजहरूको अभियानका सामु नझुक्ने प्रण रहेछ भन्नुप¥यो ।

पछि, आफूभित्र रहेका विश्व पर्वतविज्ञानका अनेक रहस्यहरू आफूमाथि मानव–उपस्थिति नभई नउघ्रिनेहुँदा र त्यहाँ मानव–आगमनबाट वैज्ञानिक प्रगतिमा सघाउ पुग्ने ठानेर होला सगरमाथाले पनि सन् १९५३ मे २९ तारिखका दिन नेपाली पर्वतारोही शेर्पाहरूसहितको सहभागितामा अंग्रेज–न्यूजील्याण्ड संयुक्त अभियानदलको स्वागत ग¥यो । अनि यो विश्व ऐतिहासिक घटनाको अभिवादन एवं अभिनन्दन सारा भूमण्डलले ग¥यो । विदेशी फौजहरूका लागि “गोर्खा” नाउँ गरेका भाडाका सैनिक जवानहरू बेच्ने भनेर कुख्याति पाएको देश अचानक अर्कै प्रकाशमा देखिनपुग्यो । तर यत्रो अपूर्व साहसिक घटना शुरुबाटै विवादमा पनि नपरिरहन सकेन । सगरमाथामा टेक्ने पहिलो मानव को त ? कुन जातिको ? नेपाली र पछि हिन्दुस्तानले आफ्नो नागरिक भनेर दावी गरेको तेन्जिंग शेर्पा कि न्यूजील्याण्डका एडमण्ड हिलारी ?

नेपालीहरू पनि त्यो प्रचारबाट रनभूल्लमा परे । विदेशी पत्रकारहरू मामलालाई अरु शनशनीदार बनाउनमा लागिरहे । न्यूरोडकोे हिमालयन होटल प्रत्रकारहरूको प्रचार कूटनीतिक युद्धको थलो बन्यो । त्यस्ता पत्रकारहरूसँग म पनि नेपाली प्रवक्ता जस्तै भएर मुछिन पुगें ।
मलाई ती दिनका घटनाहरूको झलझली सम्झना हुन्छ । मेरा अन्य मित्रहरूसहित म तिनमा पूरै संलग्न थिएँ ।

आश्चर्यको कुरा, काठमाडौंमा नागरिकहरूको तर्फबाट पर्वतारोहीहरूको भव्य अभिनन्दन गर्ने कार्यक्रम बनाउनका लागि पहिला त कम्युनिष्टहरूविना, मूलधारका छात्र संगठनहरूविना “प्रतिनिधित्वपूर्ण समिति” बनाउने जमर्को भएको रहेछ । यस्तो पूर्वाग्रही विचार कसरी र कसकहाँबाट आयो त्यो त म जान्दिनँ तर त्यस्तो भएको थियो । नागरिक अभिनन्दन गरिने कार्यक्रममा जनसहभागिता जुटाउन कम्युनिष्ट पार्टीअन्तर्गत काम गर्ने युवक, विद्यार्थी, महिला, किसान मजदूर आदि संगठनहरू बाहेक अरु कसले गर्न सक्नेथ्यो होला ? राजधानीका धेरैजसो भद्रभलादमीहरू यस्तो भ्रममा कसरी फस्नुभयो त्यो बुझ्न नसकिने कुरा थियो । यस्तो भनेर मैले त्यतिबेलाको सामाजिक संकीर्ण मनोवृत्तिको स्यानो तस्वीर खिच्न मात्र खोजेको हुँ । जेहोस्, नाउ चलेका व्यापारी गोपालराज राजभण्डारीको न्यूरोडमै रहेको मरकन्टाइल कर्पोरेशनको भवनमा त्यस्तो नागरिक स्वागत समारोह समिति गठन गर्नेबारे बैठक भइरहेको खबर पार्टी सदस्य मकबूल शाहबाट मैले पाउनासाथ म बिहान करिव ९ बजेतिर पार्टी जिल्ला सचिव पी।एन।राणा र नेपाल छात्र संघका वासु रिसाललाई लिएर एक्कासी उक्त बैठक कोठामा पसें । प्रसंगवश, यहाँ के पनि थप्नु उपयुक्त हुनेछ भने कम्युनिष्ट–कांगे्रस राजनीतिमा कत्तिनै तिक्तता आए पनि मेरो र वासु रिसालको मित्रतामा कहिल्यै कुनै असर परेन । हामी कार्यकर्ताहरूको फराकिलो एवं उदार दृष्टिकोणले गर्दा बन्न पुगेको त्यस मैत्रीका अरु अभिव्यक्तिहरूको मैले माथि पनि चर्चा गरिसकेको छु र पछिपछि पनि कतै चर्चा गर्नेछु ।

हाम्रो त्यो अनिमन्त्रित हठात प्रवेशले वातावरणलाई सन्न गरायो, सबै आत्तिएको जस्तो गरेर एकअर्कोको मुख हेर्नथाले । हामीहरू चाहिँ मानौं केही पनि नभएको जस्तो गरी, आफू आमन्त्रितै नहुँदा पनि “प्यारो आमन्त्रित” हौं कि जस्तो गरी सभा संचालन गर्न सघाउने हेतुले मर्यादापूर्वक बस्यौं । “मिटिंग भाँड्न आएका कम्युनिष्टहरू” भन्ठानेका भद्रजनहरूको मनस्थिति हामी त त्यहाँ आफ्नो सहयोग पु¥याउन आएको भन्ने थाहा पाएपछि शान्त भयो । यसमा उल्लेखनीय भूमिका खेल्नेहरूमा नरप्रताप थापा, मेरा शिक्षक त्रैलोक्यनाथ उपे्रती र महिला नेतृ पुष्पप्रभा देवी हुनुहुन्थ्यो ।

आखिर समितिमा माथिल्ला विभिन्न पद जजसले ओगटे पनि संगठन र प्रचार हामी नभइ अरुले गर्नसक्ने भन्ने कुरा थिएन । त्यसपछि बैठकमा सबै अग्रसरता हाम्रै हुनथाल्यो, हाम्रै सुझाउअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चुनिए । यसरी लोकनाथ जोशी अध्यक्ष, पूर्णबहादुर “एम.ए” उपाध्यक्ष, गोपालराज राजभण्डारी महासचिव तथा गोबर्धनलाल मास्के कोषाध्यक्ष हुनुभयो । त्रैलोक्यनाथ उप्रेती र पुण्यप्रभा देवी उपसचिव चुनिनुभयो । पी।एन। राणा, वासु रिसाल र म सहायक सचिव भयौं । हामी स्वागतको तयारीको सिलसिलामा बाहिर निस्किदा सगरमाथा चढ्ने पहिला को ? भन्ने विवाद झन् चर्को भइसकेको रहेछ । बेलायतका र अंग्रेज समर्थित भारतीय अखबारहरू पहिलो आरोहणकर्ता हिलारी भन्दारहेछन् भने अमेरिकीहरूले तेन्जिंग शेर्पा भनी प्रचार गरेका रहेछन् । हिमालयन होटलमा बसेका विदेशी पत्रकारहरू हामीकहाँ झुम्मिए । हामीलाई यो विवादमा पर्नुथिएन, र हामी कुनै टीका–टिप्पणी नगरी हिड्यौं । तर मामलो त बिस्तारैबिस्तारै यति बढिसकेछ कि भोलिपल्ट हामी तीनैजना बनेपा पुग्दा पूरै स्थिति तनावपूर्ण पायौं ।

नाममात्रको यातायात व्यवस्था भएको त्यसबेलाको काठमाडौंमा कुनै जादूगरको कार्य जस्तै यो समस्या पनि हल हुँदैगयो । पर्वतारोही पाहुनाहरू आधार शिबिरबाट तल ओर्लेर बनेपा शहरमा आउँदा को पहिला ? भन्ने विवादले गर्दा कुनै अप्रिय घटना नहोस् भन्नाका लागि काठमाडौँबाट फौजी घोडा चढाएर पी।एन। राणालाई पठाएका थियौं । उनी घोडा चढ्न जान्दथे, जान्दैनथे थाहा छैन, तर उनी बनेपामा समयमै पुगेर त्यहाँ आवेशमा आएका पार्टी सदस्य र कार्यकर्ताहरू तथा अरु शुभचिन्तकहरूलाई सम्झाउने काममा लागे । बासु र म पनि त्यहाँ पुगेपछि मैले अलि पढेकाभरले सोचविचार गर्दा र प्राविधिक दृष्टिबाट सोच्दा पहिलो आरोहणकर्ता हिलारी नै हुनुपर्छ भन्ने ठम्याएँ । अनि हामी स्थिति शान्त गर्नपट्टि लाग्यौं । बनेपामा स्वागत गर्ने तयारीमा लागेकाहरू हामै्र कार्यकर्ताहरू थिए र उनीहरूलाई पनि सम्झायौं । यति हुँदाहुँदै पनि बनेपा बजार हुँदै विजयी आरोहणकर्ताहरू गुज्रिदा कतैकतै हिलारी र जोन हन्ट तथा अरु अंग्रेजहरूलाई यसो हातले धकेलेको देख्यौं । उनीहरूलाई पनि स्थितिको पूर्व जानकारी दिइएकोले होला उनीहरू आफ्नो चेहरामा त्यत्रो विजयबाट उत्पन्न हुनुपर्ने उल्लास समेत नल्याई बडो गम्भीर मुद्रामा हिंडेको म आज पनि झलझली सम्झिन्छु ।

हुनपनि, हामीहरू क्यै गरी त्यहाँ नभएको भए “राष्ट्रवाद”को गलत अहंको फलस्वरूप कुनै साह्रै अप्रिय र दुखदायी घटना अवश्य हुनेरहेछ । खाली एउटा “निर्णय” गर्न बाँकी रहेछ र स्थिति पनि निकै तनावपूर्ण रहेर थमौतीमा राखिएको रहेछ । त्यसैले सबै मित्रहरू मेरो प्रतीक्षा गरिरहेका रहेछन् । उमेर र अनुभवले कान्छो मलाई त्यत्रो दायित्व केको लागि रहेछ भन्ने कुरा बासु रिसाललाई लिएर एउटा थोत्रो लहरी (काठमाडौंमा पहिले ट्रकको सट्टा माल र मानिसहरू ओसार्ने यातायातको एउटा प्रमुख साधन)–मा बसेर म पनि बनेपा पुगेको थिएँ । मलाई र बासुलाई झट्टै एउटा ठाउँमा लगियो । दृश्य यस्तो पो थियो –– दुइटा अलि ठूलै खाल्डो खनिएका थिए, केही युवकहरूको अनुहारमा प्रचण्ड क्रोधको भाव देखिन्थ्यो र तिनीहरू एकटक लगाएर दुईजना भारतीय जस्ता देखिने मानिसहरूतिर हेरिरहेका थिए । पार्टी कमरेड रामहरिकृष्ण मानन्धर तिनीहरूलाई सम्झाइबुझाई रहनुभएको थियो । मलाई देख्नासाथ उहाँले “ल अरविन्द दाइ, तपाईं नआउला भनेर कत्रो बित्यास परेको थियो । यहाँ मामला गम्भीर छ, सुल्झाईदिनु प¥यो” भन्नुभयो । कुरा बुझ्दा के थाहा पाइयो भने ती दुईजना भारतीय पत्रकार नै रहेछन् तर हाम्रा साथीहरूले जासूस भनेर शंका गरेका रहेछन् । तिनीहरूले सगरमाथा पहिला चढ्ने तेनजिंग होइन, हिलारी हो भनेर त्यहाँ केही मानिससामु जिरह गरेका रहेछन् । अनि त के चाहियो, “भारतीय जासूस” भन्ने पक्का भएर तिनीहरूलाई त्यही खाल्डो खनेर पुर्नुपर्छ भन्ने “ठहर” पनि भएछ र तत्कालै खाल्डो पनि तयार भएछ । मलाई आज सम्झदा, आफैंलाई पत्याउन गाह्रोपर्छ – मैले त्यो भयावह स्थितिलाई कसरी टारेँ भनेर । त्यहाँ पूरै जासूसी उपन्यासमा वर्णन गरिने जस्तो दृश्य थियो । आफूले “नेता” ठह¥याएको व्यक्तिको बोलीलाई कत्रो इज्जत–सम्मान गरियो, त्यो सम्झदा पनि हृदय भावपूर्ण हुन्छ । विदेशी पत्रकारहरूसँग सम्बन्धको जिम्मेवारी ममाथि भएको कुरालाई मानेर नै ती युवकहरूले पनि म नआएसम्म अरु केही नगर्ने भनेर पर्खिबस्न मानेका रहेछन् । उता ती भारतीय “जासूसहरू”को अनुहार हेरिनसक्नु भएर तर्सिएको थियो । तिनीहरू मलाई म नै तिनीहरूको “रक्षक” हुँ भनेको जस्तो गरी हेरिरहेका थिए । मैले नआत्तिकन वजनदार शब्दमा भनेंः “हामी राजनीतिक कार्यकर्ता हौं र आज यहाँ हामी धेरै ठूलो महत्वको घटनालाई हेर्न र त्यसमा भाग लिन आएका हौं । जासूसको ठेगान लगाउने काम हाम्रो होइन, पुलीसको हो ।” अनि त्यहीं तमासेझैँ बसेका दुईजना पुलीस अफिसरहरूलाई बोलाएर मैले “ल, अहिले यिनीहरूलाई कतै थुनुवामा राखिराख्नुस्, पछि बुझौंला” भनें । पुलीसहरूले मेरो “आदेश” लाई “जय नेपाल सर” भन्दै ती दुईजनालाई लगे । एकछिनमा तनावपूर्ण वातावरण होलो भयो । सबैको अनुहारमा मुस्कान छायो– सबभन्दा बढी दंग पर्नेमा रामहरिकृष्ण मानन्धर हुनुहुन्थ्यो । अनि हामी स्वागतको व्यवस्था गर्नमा जुट्यौं ।

स्वागत–कार्य सरकारीपक्षको सहयोगले गर्दा पनि सूचारुरूपले चल्यो । पूरै बनेपा बजार उत्सवमा जस्तै सिंगारिएको र वातावरण पनि ठूलो चाडबाडको जस्तै थियो । बिस्तारैबिस्तारै मान्यवर अतिथिहरू सरकारी पक्षका सवारीसाधनहरूमा बसेर काठमाडौं प्रस्थान गरे । पी.एन. राणाको त घोडा छँदैथ्यो, उनी त्यही चढेर फर्के । फेरि मेरो र बासुको बिचल्ली । हामी एउटा भरिभराउ लहरीमा जसोतसो चढेर बानेश्वर चोकमा आइपुग्दा मुख्य अतिथिहरू – पर्वतारोहण दलका सर जोन हण्ट, एडमण्ड हिलारी तथा तेनजिंग शेर्पालाई ६ घोडेबग्गीमा सवारी चलाई उहाँहरूलाई गद्दीबैठकमा आयोजित स्वागत–समारोहका लागि प्रस्थान गराईदैथ्यो जहाँ श्री ५ त्रिभुवनबाट उहाँहरू र दलका अन्य सदस्यहरूलाई तक्मा र मानपदवी प्रदान गरिने कार्यक्रम थियो । त्यसदिनको महत्वपूर्ण घटनामा आफू एकाकार हुनका लागि नागरिक स्वागत समितिका पदाधिकारीहरू पनि चुकिरहेका थिएनन् – स्वागत समितिका कोषाध्यक्ष कप्तान गोबद्र्धनलाल मास्के बग्गीसवारसँगै माथि बस्नुभएको थियो भने उपसचिवद्वय त्रैलोक्यनाथ उप्रेती तथा पुण्यप्रभा देवी पछिल्तिर सइस बस्ने ठाउँमा बस्नुभएको थियो । हामी पनि गद्दीबैठकतिर लाग्यौं । त्यसपछि अर्को रमाइलो घटना गद्दीबैठकमा भयो ।

पी।एन। घोडा बुझाएर गद्दीबैठकको समारोहमा भाग लिन बाहिरै मलाई कुरेर बसिरहेका थिए । यसबीच बासु कहाँ गए त्यो मलाई सम्झना भएन । गद्दीबैठकको भ¥यांगको तल्लो सिंढीतिर पुलीसका केही अफिसरहरूसँगै हाम्रो समितिका एकजना सदस्य उभिएका थिए । उनले हाम्रो परिचय गराएपछि हामी भ¥यांग उक्ल्यौं । हाम्रो लुगा दिनभरिको दौडधूप र धुलोमाटो आदिले गर्दा मैलो भएकोले हामी त्यत्रो रवाफिलो स्वागत–समारोहका लागि योग्य सहभागी देखिने खालका थिएनौं । त्यसकारण पी।एन। र म गद्दीबैठकको लामो कोठामा हिड्दै इन्द्रजात्राको दिन राजाले उत्सव हेर्ने, कुमारीबाट टीका लगाएर रुपियाँ छर्नेगरेको कौसी नपस्दैको ढोकातिर राखिएको एउटा लामो गद्दावाल बेन्चमा बस्यौं । हामी दुबैजना थाकेको भए तापनि दिनभरिको दायित्व सम्मानजनकले पूरा गरेकोमा बडो रमाइलो मूडमा थियौं । यत्तिकैमा अलि टाढाबाट एकजना पुड्कोपुड्को पुलीस अफिसर हामीतिर आइरहेका थिए । चिनीहालें – आई.जी.पी. याकथुम्वा हुनुहुन्थ्यो । मैले पी.एन.लाई बिस्तारै ठट्टा गर्दै भनें “ए, पी.एन. हामीलाई हनुमानढोकाको खोरमा जाक्ने वारेन्ट लिएर आएका त होइनन्, कतै यिनी ?” पी.एन.ले भनेः “होइन होला, त्यस्तो त कसरी हुन्छ होला र ?” मैले भनेंः “किन त आई.जी.पी. नै आइरहेका । जेहोस्, हेरौं न के होला ।”

आइ।जी।पी। याकथुम्बाले हाम्रो अघिल्तिर आइपुगेपछि टडाक्सँग बुटजुत्ता बजाएर सलाम गर्दै सोध्नुभयोः “हजुरहरूमध्ये अरविन्द रिमाल को हुनुहुन्छ रु” अब पक्का भएन त वारेन्ट लिएर आएको ? मैले उत्तर दिएँः “किन र ? म हुँ ।” उहाँले भन्नुभयोः “अँ त, हजुरले बनेपामा थुनुवामा राखिराख्नु भन्नुभएको ती दुईजना भारतीय पत्रकारहरूलाई के गर्ने रु” मैले पनि के सनक चढेर होला “अहिलेलाई थुनुवा मै राख्नुपर्ला, आई.जी.पी.साहेब” भनेँ । फेरि उही पाराले सलाम गर्दै उहाँ फर्किनुभयो ।

यता ती दुई पत्रकारहरूको प्रधानकार्यालय, भारतीय परराष्ट्र मन्त्रालय र यहाँको भारतीय दूतावास आफ्ना दुई नागरिकहरू यसरी अचानक वेपत्ता भएकोमा कति अन्योलमा परिरहेका थिए होलान् । भारतीय दूतावासले पत्ता लगायो होला बल्लतल्ल– तिनीहरू त पुलीस थानामा थुनुवामा थिए भनेर । फेरि हाम्रो परराष्ट्र मन्त्रालयबाट आई.जी.पी. अफिसलाई बुझ्न लगाइयो होला र त स्वयं आई.जी.पी. आउनुभएको यो नाटक पनि केही चिन्ता पार्ने र केही उट्पट्यांग जस्तो थिएन त ?


राजाबाट गद्दीबैठकमा पर्वतारोहीहरूलाई मानसम्मान गर्ने एवं तक्मा सुशोभन गर्ने समारोह म त्यही हलमा भएर पनि हेर्न आफ्नो चरम थकाईले गर्दा चुकेकोले गर्दा त्यहाँका भाषणहरू सुन्न पाएको थिइनँ । उक्त अवसरमा भाषण गर्ने एडमण्ड हिलारीले ूत्भलवष्लन ल्यचपभथ ष्क लयत ब mझदभच या यगच तभबm। ज्भ ष्क वगकत ब उयचतभचू (तेन्जिंग नोर्के हाम्रो दलका सदस्य होेइनन् । उनी त भरिया मात्र हुन्) भन्नुभयो भनी पछि मलाई समाज दैनिकका सम्पादक मणिराज उपाध्यायले भन्नुभयो । तथापि जनकवि धर्मराज थापाले आफ्नै रचनाको गीत “हाम्रो तेन्जिंग शेर्पाले चढे हिमाल चुचुरा, तेन्जिंग तिमी संसारभरि अमर हुनेछौ । सुनौला नाम तिमीले राख्यौ, महान हुनेछौ ।। ” गाएर नेपाली जनमानसमा तेन्जिंगको उपलब्धिलाई चिरस्थायी मात्र नभएर अमर नै बनाइदिनुभएको विवरण चाहिँ यहाँ उल्लेख हुनैपर्छ ।
यो घटनापछि केशरशम्शेरले नेतृत्व गरेका परामर्शदातृ सरकार विघटन भई मातृकाप्रसाद कोइरालाले अध्यक्षता गरेको राष्ट्रिय प्रजा पार्टीको एकलौटी सरकार उहाँकै प्रधानमन्त्रीत्वमा गठन भएको खबर सुनियो ।
पर्वतारोहीहरूको सम्मानमा काठमाडौंका नागरिकहरूको तर्फबाट तेन्जिंग–हिलारी नागरिक स्वागत समितिले ठूलो टुडिंखेलको विशाल चौरमा भव्य समारोह आयोजना ग¥यो । त्यसमा कम्युनिष्ट पार्टीको प्रभावमा भएका विद्यार्थी, महिला, मजदूर, किसान तथा युवक संघहरूको सक्रियता उल्लेखनीय थियो । तेन्जिंग शेर्पाका लागि घरको प्रतीकका रूपमा एउटा ईंट प्रदान गरियो र साथै पचास हजार रुपियाँ नगद पनि प्रदान गरिने घोषणा भयो । यता तेनजिंग नेपाली नागरिक नभएर भारतीय नागरिक भएको खबर भारतीय अखबारहरूमा फैलियो । पत्रकारहरू पनि अवश्य छुटे होलान् । यसरी साहा राष्ट्रिय चाडसरहको र अन्तर्राष्ट्रिय महत्वको ऐतिहासिक घटना कताकता स्यानो दायरामा खुम्चिन गएको थियो ।
सगरमाथासम्बन्धी यो विवरण पढेपछि मेरा भतिजा इन्जिनियर गौरीनाथले ठट्टैमा भनुँ वा अर्ध गम्भीरतालले भनुँ, यो भनेः दाजु, तेन्जिग नोर्केलाई भारतले आफ्नो नागरिक भनेर हाइज्याकिङ गरेकोमा चित्त नदुखाउँ, आखिर, हामीले पनि ऊबाट गौतमबुद्धलाई हाइज्याकिङ्ग गरेर आफ्नो बनाएका होइन र ? त्यसबखतको भूगोललाई सम्झौं त !”