साहित्य

शिबजीसँग मोनालिसा

-डा सुरेन्द्र सिटौला

                                                                                                                       #कविता# 

प्रत्येक दिन बिहानै
ब्रम्हाण्डको त्यो महान पिकासो
घरको उत्तर तिर ठिङ्ग उभिएर
मोनालिसा सग मलाइ परिचय गराउछ ।
कन्चन सफेद सल ओडेकी मोनालिसा
सुस्तरी सुस्तरी मुस्कुराउछिन ।
उदाउँदो रक्तिम भानुलाई
स्वागतार्थ मुस्कान पस्किदै
आफ्नै घरलाइ सजाउछिन् ।
बर्षौ देखि उनलाइ हेर्न ललायित
भौतारिएका आँखा सबैलाई छलेर
मलाइ खुसुक्क
उनी बस्ने घर देखाउछिन् ।

दुनियाँ उनलार्इ हेर्न एकोहोरिदा
लाजले भुतुक्क मोनालिसा
फटिक उज्यालो अनुहार
शरमको आबेगमा
पसिनाले लतपत्याउदै
कोशी, गण्डकी
अनि कर्णाली र महाकाली जन्माउछिन् ।
दानी मोनालिसा
बहुमुल्य बिद्युत शक्ति
कति पनि लोभ नगरी
आफ्नै छाती माथी
पानी सगैँ बगाउछिन् ।

राम्री अनि जाँगरिली छन् मोनालिसा
आफ्नै कोठेबारीमा
अमुल्य यार्चागुम्बा
अनि सैयौं जडिबुटी उमार्छिन् ।
एक सय पच्चिस भाषा र लयमा
सुमधुर भजन गुनगुनाउछिन् ।
गाउँका सबै खेत बारीमा
फरक फरक जात र बर्णका
सुगन्धीत फुलहरु उमार्छिन् ।
तिनै फुल सजाएर केशमा
छम छमी नाच्दै
फुलबारी रुग्ने सबै माली हरुलार्इ
बर्षै भरी हसाउछिन् ।
प्रत्येक बर्ष एक पटक
शिबजी लाई गाजा खुवाउदै
पशुपतिमा नाङ्गै नचाउछिन् ।
शिबजी सँगै उनी पनि
शिबरात्री मनाउछिन् ।

अलौकिक छन् मोनालिसा
आफ्नै राजा जनकलार्इ
महाऋषि सँग सम्बाद गर्न लगाएर
अष्टाबक्र गीता जन्माउछिन् ।
बीरङ्गना पनि छन् मोनालिसा
मृत्युु सँग कति पनि नडराउने
गोर्खाली बलभद्रहरु जन्माएर
विश्व युद्ध लड्न पठाउछिन् ।
नारी रत्न छोरी जन्माएर
आदि महापुरुष रामलाइ ज्वाइँ बनाउछिन् ।
छोरी भृकुटीको आभा पस्केर
राजकुमार श्र्वनचनगम्पोको
दरबार सजाउछिन् ।
बुद्ध जन्माएर
बिश्व लाई शान्तिको पाठ पढाउछिन् ।

बिछट्टै रसिली छन् मोनालिसा ।
आफ्नै घर सम्झेर
लोक दोहोरी भाषामा
बर्षै भरी
मुना मदनको गीत गाउछिन् ।
उनलाइ छोडेर लाहुर जाने
बिश्व भरिका लाहुरे हरुलाई
प्रेम प्रस्ताव पठाउदै भन्छिन्
आउ सँगै मिलेर पढौंं
प्रेम रसको आत्म कहानी ।
रोमियो जुलियट साँक्षी राखेर
भोगौं यहि धरामा सँँगै
लैला मजनुको जवानी ।