आर्थिक

एनएमबी बैंकद्वारा छानामा राखिने विशेष मोडलको सौर्यऊर्जा खरिद सम्झौता

काठमाण्डौ । एनएमबी बैंकले आज सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल प्राइभेट (सन) सँग ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जाको ऊर्जा खरिद सम्झौता (पीपीए) सम्पन्न गरिएको घोषणा गरिएको छ । यो विद्युत् प्रशारण लाइनसँग आवद्ध सौर्य–ऊर्जा एनएमबी बैंकको बबरमहल काठमाडौंस्थित केन्द्रीय कार्यालयको छतमा राखिने छ ।

यस ऊर्जा खरिद सम्झौताअन्तर्गत सनले छानामा सौर्यऊर्जा स्थापना–जडान, स्वामित्व ग्रहणसहित १५ वर्षका लागि सञ्चालन गर्नेछ । एनएमबी बैंकले ऊर्जा उत्पादन÷सञ्चालनका लागि कुनै लगानी नगरी यो छानामुखी सौर्यऊर्जा (सोलार रुफ–टप) बाट उत्पादित विद्युत्, राष्ट्रिय प्रशारण लाइनबाट उपलब्ध हुने विद्युत्को खुद्रा महसुल दर भन्दा कम दरमा खरिद गर्नेछ ।

“यस पहलले बैंकको नेपालमा नवीकरणीय ऊर्जाको विस्तार एवं त्यसका लागि वित्तीय लगानी गर्ने एनएमबी बैंकको प्रतिबद्धतालाई पुष्टि गर्दछ । यसले हाम्रो आफ्नो विद्युत् आवश्यकताको एउटा हिस्सा सौर्यऊर्जाबाट पूरा मात्र हुँदैन, नेपालभरि छानामा राखिने सौर्यऊर्जा प्रणालीको विस्तारका लागि लगानी विस्तारका लागिसमेत हामी यसको उपयोग गर्नेछौं,” एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने ।

एनएमबीको छानामुखी सौर्य प्रणालीको आयु २० वर्षभन्दा लामो समयावधि रहेको छ, उक्त अवधिमा बैंकले प्रशारण लाइनबाट प्राप्त विद्युत् भन्दा कम दरमा प्रतियुनिट भुक्तानी गर्नेछ । यो ५० किलोवाटको सौर्यऊर्जाले २० लाख किलोवाट घण्टा (किलोवाट आवर) बराबरको विद्युत् आयात कम गर्नमा तथा आयोजना अवधिभरिमा २ करोड रुपैयाँभन्दा बढीको आयात लागत घटाउन सहयोग पु¥याउनेछ ।

“हामी नेपाल विद्युत् प्राधिकरणको नेट मिटरिङ प्रणाली अपनाउन दिने निर्णयको स्वागत गर्दछौं, यो यस्तो प्रणाली हो, जसका माध्यमबाट विद्युत् उपभोक्ताले आफ्नो सौर्य ऊर्जा प्रणालीलाई प्रशारण लाइनमा आवद्ध गर्न दिन्छ र बढी भएको विद्युत् प्रशारण लाइनमार्फत् निर्यात गराउँछ । नेट मिटरिङले नेपालको विद्युत् उत्पादनका आधारहरू विविधीकरण गर्ने, उपभोक्तामाथि विद्युत्को लागत घटाउने, आयात घटाउने र अझ बढी विश्वसनीय विद्युतीय प्रशारण लाइन (ग्रिड) सहितका व्यापक अवसरहरू विस्तार गर्न ढोका खोलेको छ,” सरल ऊर्जा नेपालका प्रबन्ध निर्देशक विशाल थापाले भने ।

एनएमबी बैंक र सनबीचको सम्झौताले नेपालभरि नै यस्तो छानामुखी सौर्यऊर्जामा लगानी बढाउने उद्देश्यलाई पनि समेटेको छ ।

“एनएमबी बैंकमा जडान गरिने सौर्यऊर्जा प्रणाली यस्तो विशिष्ट प्रणाली हो, जहाँ ग्राहकले जडान र सञ्चालनका लागि लगानी नगरि नै ऊर्जा उपभोग गर्न पाउने छन् र उपलब्ध सौर्य विद्युत्मा नेपाल विद्युत् प्राधिकरणको महसुल दरभन्दा कम भुक्तानी गरे पुग्छ । यो प्रणालीबाट आउँदो पाँच वर्षभित्रमा ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सक्ने हाम्रो विश्वास छ,” सनका प्रमुख कार्यकारी अधिकृत आशिष चालिसेले भने ।

एनएमबी र सन, वित्तीय लगानी सुविधाका दिशामा कार्य गरिरहेका छन्, जसले सनलाई नेपालभरि नै सौर्यऊर्जा सेवा उपलब्ध बनाउन सक्षम तुल्याउँछ ।

“यस परियोजनापछि हामीले सनसँगको सहकार्यमा नेपालभरि नै सौर्यऊर्जा विस्तार गर्नका लागि वित्तीय लगानीको प्रक्रिया आरम्भ हुने अपेक्षा गरेका छौं, जसले उपभोक्तालाई खर्च बचाउन, नेपालको विद्युत् उत्पादन प्रक्रियामा विविधीकरण गर्न, विद्युत् आयातमा कमी ल्याउन र थुप्रै नयाँ रोजगारी विस्तार गर्न सकिनेछ,” ऊर्जा तथा विकास संगठनका प्रमुख दिनेश दुलालले भने ।