सुदूरपश्चिम

चुरे फेदीका बासिन्दा आधारभूत सुविधाबाट वञ्चित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने चुरे फेदीको बर्रेगडा र धारापानी वस्ती आधारभूत सुविधाबाट वञ्चित रहँदैआएका छन् । सडक, शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव छ वस्तीमा । यहाँ बस्दैआएका परिवारसँग जग्गाको स्वामित्व समेत छैन ।

धारापानीका बासिन्दाले नजीकैको खोलाको पानी उपभोग गर्दै आए पनि बर्रेगडाका बासिन्दालाई दुई किलोमिटर टाढाको खोलाबाट पानी बोकेर ल्याउनु पर्ने अवस्था छ । वर्षात्का बेला खोलामा धमिलो पानी आउने गर्दछ । बर्रेगडाका टेकबहादुर बुढाले भन्नुभयो – “पिउने पानीको अर्को विकल्प नहुँदा धमिलो पानीलाई थेग्र्याई पिउने गर्दैआएका छौं । यस्तो पानी पिउनु रहर नभएर बाध्यता हो ।”

उनले भने – “सडकको भरपर्दो व्यवस्था नहुँदा उपभोग्य वस्तु ल्याउन दश किलोमिटर टाढाको बजार पैदल नै पुग्नु पर्दछ । पिठ्युँमा भारी बोकेर उपभोग्य वस्तु ल्याउने गर्दछौं ।” वर्षात् अघि नै उपभोग्य वस्तुको जोहो मिलाउनुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । वर्षात्का बेला खोला र नदीहरुमा पानीको बहाव उच्च हुने भएकाले वर्षा हुनु अगावै यहाँका बासिन्दाले दैनिक उपभोग्य वस्तु चामल, दाल, नून, तेल र पिठो लगायतको जोहो मिलाउने गर्दछन् । बालबालिकालाई पाँच किलोमिटर टाढाको विद्यालय पु¥याउन जङ्गल कटाउन अभिभावकलाई पालो मिलाउनु पर्ने बाध्यता छ ।

“हिंस्रक जीवजन्तुको सम्भावित आक्रमणबाट जोगाउन बालबालिकासँगै अभिभावक जानुपर्दछ,” स्थानीयवासी वीरबहादुर थापाले भने ।
बालबालिकालाई विद्यालय पु¥याउन र ल्याउन पालो मिलाउँदै आएको उनले बताए । अर्का स्थानीयवासी धनादेवी धामीले भने – “ वस्तीमा विद्युत् त परको कुरा । टुकी बाल्न तेल ल्याउने क्षमतासम्म नहुँदा राति अँध्यारोमै खाना पकाउने काम हुन्छ । दिउँसोको उज्यालोमा मात्रै बालबालिकाले पढ्न पाएका छन् ।”

“लोकतन्त्र आयो, काठमाडौँको सिंहदरबार गाउँमै पुग्यो भनेर रेडियो भन्दछ,” उनले भने – “बस्दै आएको वस्ती जस्तो पहिला थियो, अहिले पनि त्यस्तै छ । पहिराले बाटो लग्दा सहज रुपमा हिँड्न समेत पाउँदैनौं ।” वस्तीमा बस्ने बासिन्दाको आयस्तर निकै कमजोर हुँदा वस्तीका अधिकाँश पुरुष कामको खोजीमा भारत र छिमेकी जिल्लामा मजदूरी गर्न जान्छन् । उनीहरुले पठाएको पैसाबाट वर्षभरिको घर खर्च धान्ने गरिन्छ । थोरै रहेको पाखो जग्गामा लगाइएको अन्नबाली बाँदर, बँदेल लगायतका जङ्गली जनावरले दिउँसै खेतमा पसेर सखाप बनाएर दुःख दिन्छन् ।

छ वर्ष अघि घरजग्गा सबै पहिराले लगेपछि धारापानीका साइमले धामीको परिवार दार्चुलाको धुलीगडाबाट आश्रयको खोजीमा यस ठाउँमा बस्न आएको हो । चारैतिर नदीले घेरिएको ठाउँमा बस्दैआएका धामी परिवारलाई वर्षात्को उर्लिदो भेलले बगाउने चिन्ता छ । धामीले भने – “पहाडमा रहेको सबै खेत पहिरामा प¥यो । अब यहाँबाट समेत विस्थापनमा परे कुन ठाउँमा परिवारलाई लगेर राख्ने हो भन्ने पिरलो छ ।”
वस्ती जोखिमयुक्त र सुविधारहित भएका कारण धेरै परिवारलाई वस्ती नै त्यागेर जीविका चलाउन अन्यत्र जानुपर्ने बाध्यता छ ।
चुरे क्षेत्रमा पर्दैगएको मानवीय चापले विनाश बढ्न थालेपछि संरक्षणका लागि वस्ती हटाउन दवावसमेत आउने गरेको छ । बस्न अर्को व्यवस्था नहुँदा दवाव र जोखिम सहेर बस्नुपरेको स्थानीय बासिन्दा बताउँछन् ।

चुरे क्षेत्रका कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्किफाँटा र बागमारेका बासिन्दाको एउटै खाले समस्या रहेको छ । केही परिवारले परम्परागत रुपमा बाख्रापालन गरी जीविका धान्दै आएका भए पनि धेरै परिवार भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन् । चुरे क्षेत्रमा मानवीय चापसँगै विनाशसमेत उत्तिकै बढेकाले एकीकृत नमूना वस्ती बसाल्न योजना अघि बढाइएको वडाध्यक्ष बहादुर महराले बताए । उनका अनुसार यसका लागि घरधुरी सर्वेक्षण सँगै एकीकृत नमूना वस्तीका लागि सम्भाव्यता अध्ययनको कार्य थालिएको छ । चुरे क्षेत्रमा बस्दैआएका दुई वस्तीका २२ परिवारको अवस्था निकै नाजुक रहेको सर्वेक्षणले देखाएको छ । यसमा आठ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ ।

उनले भने – “कुनै पनि सुविधा पु¥याउन थोरै स्रोतले सम्भव नहुने भएकाले वस्ती नै अन्यत्र सारिनु पर्छ । यसका लागि योजना बनाउन जुटेका छौं ।” उनका अनुसार सुविधा सम्पन्न वस्ती बसाउन जग्गाको खोजी भैरहेको छ । विसं २०२४ अघिदेखि वस्ती बस्न थालेको यस क्षेत्रका बासिन्दा घाँसका छाना भएका घरमा बस्दैआएका छन् ।