राजनीति

वरिष्ठ नेता पौडेलको दाबीः अब काङ्ग्रेसभित्र कुनै गुट–उपगुट छैन

वालिङ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसभित्र सुध्रिने र सुधारिने परिपाटीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस स्याङ्जाले आज वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन पार्टीभित्रका विद्यमान कमी कमजोरीलाई सुधार्नुको विकल्प नरहेको बताए ।

“काङ्ग्रेसभित्र कुनै गुट–उपगुट छैन, पार्टी केवल विधान र आदर्शमा अडिग रहेर अगाडि बढेको छ,” नेता पौडेलले भने, “भर्खरै सम्पन्न महासमितिको बैठकले पार्टीमा एकताको बिजारोपण गरेको छ ।”

निर्वाचनमा पार्टीभित्र आन्तरिक बेमेल भएकै कारण पराजय भोग्नुपरे पनि अब ती कुराहरुबाट पाठ सिक्दै सुध्रिएर आगामी निर्वाचनमा पार्टीलाई बलियो रुपमा प्रस्तुत गर्ने गरी तयारीमा लाग्न पनि नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए । “पार्टीले गरेका निर्णयलाई जनतामाझ लैजानका लागि नेता तथा कार्यकर्ता भेटघाटलाई नियमित बनाउनुपर्छ,” वरिष्ठ नेता पौडेलले भने, “दुई तिहाइको कम्युनिष्ट सरकारको डटेर सामना गर्ने भन्ने सोचका साथ पार्टी अगाडि बढ्नुपर्छ ।”