उर्जा

अरुण तेस्रोको पन्ध्र प्रतिशत काम सम्पन्न

सङ्खुवासभा । राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार अहिलेसम्म तीन सय ५२ मिटर सुरुङ्मार्ग खन्ने काम सकिएको छ ।

“आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ, अब निर्माण सामग्री ढुवानीमा सहज हुनेछ,” उनले भने । आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भएको शर्माले बताए । नौ सय मेगावाट क्षमताको उक्त परियोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणका लागि रु एक खर्ब २० अर्ब खर्च हुने अनुमान गरिएको छ ।