पर्यटन/संस्कृति

श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।

यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले राससलाई जानकारी दिए।

पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

व्रतालु माघ शुक्ल पूर्णिमासम्म यहीँ बस्नुपर्ने व्रतविधि छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताए ।