समाचार

चरा संरक्षणमा सक्रिय व्यक्ति र संस्था पुरस्कृत

काठमाडौँ । नेपाल पन्छी संरक्षण सङ्घले आफ्नो ३६औँ वार्षिक साधारणसभाको अवसरमा आज चरा र जैविक विविधता संरक्षणमा सक्रिय दुई संस्थालाई पुरस्कृत गरेको छ ।

जाजरकोटको चन्द्रसूर्य युवा क्लब र काठमाडौँको शिवपुरीस्थित नेचरगाइड एशोसिएशनलाई उक्त सङ्घले जनही रु एक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो । त्यस्तै लोपोन्मुख गिद्धको अनुसन्धानका लागि दुई विद्यार्थी शर्मिला सिग्देल र भरतप्रसाद चौलागाईं प्रमाणपत्रसहित जनही रु ३० हजारको जटायु छात्रवृति प्रदान गरिएको छ ।

चरा तथा वातावरण संरक्षणमा योगदान पु¥याउनुहुने क्रिएटिभ बर्ड वाचिङ क्लबका अध्यक्ष एस महर्जनलगायत वातावरण संरक्षण अभियन्ता चुङ्गबा शेर्पा, उमङ्गजङ्ग थापा र वसन्तराज मिश्रलाई पनि सङ्घको संरक्षक सदस्यको रुपमा सम्मानित गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक गोपालप्रकाश भट्टराई, सङ्घका अध्यक्ष राजेन्द्र गुरुङ, विभागका पूर्वमहानिर्देशक श्यामसुन्दर बजिमय, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङ, आइयुसिएन नेपालका राष्ट्रिय प्रतिनिधि प्रल्हाद थापालगायतले पक्षी संरक्षणका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए। सो अवसरमा विगत १८ वर्षदेखि विभिन्न प्रजातिका चराको संरक्षणमा गरिएका कार्य र सहयोगसम्बन्धी विभिन्न प्रस्तुति गरिएको थियो ।