लुम्बिनी

सडक विस्तार हुँदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ । तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पु¥याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजनाअनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले सडक सञ्जाल नपुगेका विकट गाउँलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । धनुवासदेखि सल्यानको मखनटाकुरी जोड्ने सडक सञ्जालको शनिबार शुरुआत गर्दै नगरप्रमुख पाण्डेले सडकलाई समृद्धिसँग जोड्न जनताले उद्यममा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले विकट वडाका जनतालाई लक्षित गरेर तीन एम्बुलेन्स खरीद गरिएको बताउँदै केही दिनमै सञ्चालन गरिने बताए । उपमहानगरपालिकाले धनुवास, रानी टाकुरा, गैरा सिउरे र मखन टाकुरा हुँदै सल्यान जोड्ने सडक निर्माणको काम शुरु गरेको छ । सडकको ट्रयाक खोल्ने काम ४० दिनभित्र पूरा हुने उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद वलीले जानकारी दिए । स्थानीयवासी डम्बर अर्यालले २० वर्षदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गरे ।