गण्डकी प्रदेश

शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ रहन ध्यान..

बागलुङ । सधैँ समाचारको खोजीमा दौडिरहने यहाँका पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे ।

पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो मिलाएका थिए । केही घण्टा भए पनि ध्यानमा बस्न पाउँदा पत्रकारले आत्मिक शान्ति र सुखको अनुभूति गरे । अधिकांश पत्रकारलाई त्यो पहिलो अनुभव थियो । “सकारात्मक ऊर्जा प्राप्त भयो”, पत्रकार विजय रानाले भने, “स्वस्थ शरीर र मनका लागि ध्यान अन्यन्त जरुरी रहेछ ।” उनले ध्यानले मानिसमा उन्नत विचार र चिन्तनको बीजारोपण गर्ने विचार राखे ।

केन्द्रीकी सञ्चालिका ज्योत्सना शाक्य ‘मा आत्मो’ ले ध्यानले मानिसलाई मुक्तिको मार्ग देखाउने उल्लेख गरे । लोभ, मोह, ईष्र्या कुण्ठाबाट विकृत मानव हृदयलाई स्वच्छ राख्न ध्यान जरुरी भएको उनको भनाइ छ । उनले ध्यानका विभिन्न विधिबारे अभ्यासमूलक प्रवचन दिएका थिए । “आशोले २०० ध्यानका विधि पत्ता लगाउनुभएको छ”, शाक्यले भने, “हामीले ध्यानका सामान्य विधि मात्रै अपनाउन सके पनि धेरै फाइदा छ ।” उनले ओशो कुनै धर्म सम्प्रदायमा विभाजित नभएको प्रष्ट पारे ।

योग, ध्यान र तनाव व्यवस्थापनबारे पत्रकारलाई प्रशिक्षित गर्न शिविर राखिएको शाखाका अध्यक्ष दिल शिरीषले बताए । “शिविरले कार्यक्षेत्रमा ऊर्जाका साथ खट्न पक्कै बल मिलेको छ”, उनले भने, “समाजमा सकारात्मक सन्देश प्रवाह भएको हाम्रो विश्वास छ ।” उनले जुनसुकै विचार वा वादका सकारात्मक पक्षलाई ग्रहण गर्दा अन्यथा नहुने तर्कसमेत गरे । सधैँ अरुका लागि समय दिने, भौँतारिने पत्रकारले आफैंलाई खोज्न, चिन्न ध्यान शिविरले सघाएको शिरीषको भनाइ छ ।

सोही अवसरमा ओशो तपोवनका तर्फबाट पत्रकार महासङ्घलाई उपहार प्राप्त पुस्तकहरु पनि हस्तान्तरण गरिएको थियो । केन्द्रले यसअघि बागलुङ कारागारका कैदीबन्दीहरु बीच पनि ध्यान शिविर चलाएको थियोे । योग र ध्यानका कार्यक्रमलाई विस्तार गर्दै लगिने केन्द्रका अध्यक्ष लीला खड्काले बताए । “मानिसलाई ध्यानका बारेमा सचेतना फैलाउन आवश्यक छ”, उनले भने, “शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ रहन यसले सघाउँछ ।” ध्यान शिविर पत्रकार महासङ्घ बागलुङ शाखाको हलमा भएको थियो । शिविरमा १५ क्रियाशील पत्रकार सहभागी थिए ।