साहित्य

सपनाको सयर

  • डा.सुरेन्द्र सिटौला                                                                                                                                                                                         – कविता

बिपनामा मरि तरि उकालो चढ्दै
सपनामा हवाई जहाज सयर गर्छ मान्छे ।
सपनाको यथार्थ
विपनामा मुर्दा भै दिदा
फेरि मृगतृष्णाको घोडा चढेर
सपनाको मरुभूमि तर्छ मान्छे ।

सपनाको घोडा चढेर दौडेको
मान्छेको बिपना
गन्तव्यको चौबाटोमा अलमलिए पछि
प्रारब्धको चौतारीमा थकाइ मार्दै
आफ्नै कर्मको झुपडीमा फर्किन्छ मान्छे ।

तृष्णाको महासागरमा
सपनाको पानी जहाज दौडाउने मान्छे
यथार्थताको सानो तलाउमा
चुर्लुम्म डुबे पछि
निस्सासिएर आफै सग तर्छिन्छ मान्छे ।
सपनाको सयर बूढो भए पछि
फेरि बिपनाकै झुपडीमा
फर्किन्छ मान्छे ।

बिपना र सपनाको रस्सा कस्सिमा
सधै अड्किन्छ मान्छे ।
सपना सग बिपना
सधै पराजित भएको देखेर
रिसको आबेगमा
आफै सग कड्किन्छ मान्छे ।

सपना र बिपनाको
अनन्त यदुवंशी युद्धमा
दुबै हारे पछि
चिताग्नीको न्यायालयमा
आ-फ्ना गुनासा जहेर गर्दै
समयको अनन्त गर्भमा
आफै हराउछ मान्छे ।
पुर्खाले जति हन्डर खाए पनि
फेरि सपनाको जहाज सयर गर्दै
बिपनामा जोड तोड्ले
कराउछ नयाँ मान्छे ।